काठमाडौँ । प्रतिनिधिसभा विघटनको आलोचना र विरोध भइरहेको बेला प्रमुखप्रतिपक्षि भित्र भने अन्योलता छ । सभापति शेरबहादुर देउवा सर्वोच्चको फैसलाको प्रतिक्षा गर्नुपर्ने पक्षमा छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल सडकमा उत्रिनुपर्ने बताउँछन् ।
सोहीक्रममा पौडेल पक्षले देउवालाई दवाव दिन वेग्लै भेला राखेको थियो । भेलाले आन्दोलनका कार्यक्रम र मोडालिटीसहितको अलग प्रस्ताव केन्द्रीय कार्य समिति बैठकमा लैजाने भएको छ ।
देउवा आन्दोलनमा जान नमानेपछि नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षले आजको बैठकमा आन्दोलनका कार्यक्रम सहितको प्रस्ताव लैजाने निर्णय गरेको हो ।
पार्टीको जारी बैठकमा आन्दोलनका बारेमा अन्यौल र गोलमटोल छलफल भइरहेकाले प्रष्ट कार्यक्रम र मोडालिटी सहितको प्रस्तावमा छलफल गराउन लागिएको बैठकमा सहभागि एक सदस्यले बताए । बैठकमा प्रस्ताव छलफल गरी त्यसलाई पारित गराउन सभापति देउवालाई आग्रह गर्ने पौडेल पक्षको तयारी छ ।