काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध २०७७ पुस ५ गते अपरान्ह ३ः३० बजे नै अविश्वासको प्रस्ताव दर्ता भएको संसद सचिवालयले स्पष्ट पारेको छ । सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले विभिन्न सञ्चारमाध्यममासमय फरक–फरक आएपछि अपरान्ह ३ः३० बजे नै प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको स्पष्ट पारेका हुन् ।
यस अगाडि प्रधानमन्त्री ओलीले संसद विघटन गर्नु अगाडि नै उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेको चर्चा चलेको थियो । सचिवालयले फरक–फरक समय आएकोप्रति ध्यानाकर्षण भएको समेत जनाएको छ । ‘अविश्वासको प्रस्ताव प्रतिनिधिसभाका सम्माननीय सभामुखज्यु समक्ष पेश गरी कार्यव्यवस्था शाखा (प्रतिनिधिसभा) मा दर्ता हुने प्रचलन रहेको र २०७७ पुष ५ गतेका दिन सम्माननीत सभामुखज्युलाई सम्बोधन गरी विधिवत् रुपमा पेश भइ सम्माननीत सभामुखज्युको तोक आदेश भएपछि सोही दिन अपराह्न ३ः३० बजे कार्य व्यवस्था शाखा (प्रतिनिधिसमा) मा दर्ता भएका व्यहोरा जानकारी गराइन्छ ।’ उनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।