पार्किङका ठेकदार भन्छन्, ‘शूल्क नउठाउने आदेश आएको छैन’

पोखरा । पोखरा महानगर गत मंसिर २८ गतेदेखि पार्किङ शुल्क उठाउने निर्णय गरेसँगै यसको चौतर्फी विरोध भएको छ । जागौं नेपालले पार्किङ शुल्कविरुद्ध अदालतमा रिट दायर गरेर अदालत तत्कालका लागि फैसला सुनाएको छ ।

अदालतको आदेशमा, ‘सडक किनारामा सवारी साधन पार्किङ गर्ने व्यवस्थापन गर्दा, गराउँदा एवं गर्नुपर्दा सडकमा गुड्ने सवारी साधनको आवागमनलाइ र मानिस आवातजावत गर्नलाई उल्लेखनीय असर पुग्ने गरेर नगर्नु नगराउनु भनि अन्तरिम आदेश रद्ध गरी पाउँ भनी सम्बन्धित पक्षको निवेदन परेका वखत पुनर्विचार हुनेगरि प्रस्तुत निवेदनको टुँगो नलागे सम्मको लागि उच्च अदालतको निमावली २०७३ को नियम ४२ बमोजिम विपक्षीहरूको नाममा अन्तरिम आदेश जारी गरिएको छ ।’ उल्लेख गरेको छ ।

अदालतले तत्कालका लागि शुल्क नलिनु भनेर आदेश दिएको छैन । पोखरा महानगरका सूचना अधिकारी भरतराव पौडेलले अदालतबाट शुल्क नउठाउने भनेर फैसला नआएको जनाएका छन् । उनले भने, ‘अदालतको आदेश त आएको छ, तर तत्काल शुल्क नउठाउनु भनिएको छैन । मानिस र सवारीसाधनलाई भने असर पुग्नुभएन व्यवस्थापन गर्नुप¥यो ।’

त्यस्तै पार्किङ व्यवस्थापन समितिका अध्यक्ष इन्द्र गुरुङले अहिलेसम्म महानगर र अदालतबाट त्यस्तो केही सूचना नआएको जानकारी दिएका छन् । साथै उनले भविष्यमा अदालतमार्फत् पार्किङ शुल्क नलिनु र नउठाउनु भन्ने आदेश आए क्षतिपूर्ति माग गर्ने बताएका छन् । उनले सबैभन्दा बढी आफूहरु मर्कामा परेको बताउँदै भने, ‘यो ठेक्का भइसकेपछि अब बन्द भयो भन्ने कुराहरु आए । हामीले त भोलि क्षतिपूर्ति माग गर्छौं । हाम्रो कर्मचारी र लगानी छ । मर्का हामीलाई छ नि ।’

पार्किङ शुल्क उठाउन आफूहरुले जोरजबरजस्ती नगरेको उनको भनाई छ । उनले भने, ‘पार्किङ शुल्क उठाउन हामीले जोरजबस्ती गरेको होइन, टेन्डर प्रक्रियाबाट ठेक्का परेको हो । नियम कानुनभित्र रहेर काम गरेका छौं ।’

शुल्क विरोधमा महानगर र जनताहरुको कुरा भएको उनी सुनाउँछन् । महानगरले दिएको क्षेत्राधिकारभित्र रहेर पार्किङ शुल्क उठाँउदा भोलि रोकियो भने रिट हाल्ने समितिले बताएको छ । अहिले महानगरभित्र पार्किङ शुल्क उठाउन २ सय बढी कर्मचारीलाई तलबमा समितिले राखिसकेको छ । शुल्क उठाउन रोजगार पाएकामध्ये अधिकांश निम्नस्तरका र बहिरा संघका रहेको समितिले जानकारी दिएको छ ।

फेवा सावित्री जेभीबीच ३ करोड १६ लाख ७० हजारमा ठेक्का परेको हो । यसको अवधि २ वर्ष रहनेछ । मझौला सवारीसाधनलाई पनि प्रति घण्टा ३० रुपैयाँ शुल्क तोकिएको छ । यस्तै २ पांग्रे मोटर साइकल र स्कुटरलाई एकदिनको १० रुपैयाँ शुल्क लाग्ने निर्णय महानगरपालिकाले गरेको छ । ४ पांग्रे अन्तरगत ठूला सवारी साधनलाई प्रतिघण्टा ३० रुपैंया र हलुका सवारी साधन ट्याक्सीलाई प्रतिघण्टा २० रुपैयाँको दरले पार्किङ शुल्क लिइएको छ ।

कमेन्टहरु
Loading...