आजको बैठकमा नेकपाको छिनोफानो, ओलीले अध्यादेश जारी गर्ने सम्भावना

 

दिपक के श्रेष्ठ

 

कूल ४ सय ४१ केन्द्रीय सदस्य रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को छिनोफानो आज अपरान्हसम्म हुँदैछ । नेकपाका दुबै पक्षले आज ‘केन्द्रीय समिति’को नाममा आकस्मिक बैठक डाकेका छन् ।

प्रधानमन्त्री केपि ओलीले बिहान ९ बजे बालुवाटारमा र पुष्पकमल दाहाल एवं माधव नेपाल समूहले दिउँसो माइतिघरको एक पार्टी प्यालेसमा दिउँसो १ बजे आकस्मिक बैठक बोलाएका छन् । बैठक मूलतः वर्तमान समस्यालाई सम्बोधन गर्ने भनि बोलाइए पनि यसको मूल उद्देश्य आफ्नो कोटरीमा कति सदस्य संख्या छन् भन्ने निक्र्याैल गर्नु नै हो । यससँगै आज नेकपा चोइटिने र यसको औपचारिक घोषणा हुने आंकलन गर्न सकिन्छ ।

ओली र प्रचण्डबीचको लामो समयसम्म पद र अधिकारको विषयलाई लिएर चलेको रस्साकस्सीका कारण आइतबार प्रधानमन्त्रीद्वारा चालिएको अनपेक्षित कदमपछि स्थिति यस हदसम्म आइपुगेको हो । अब दुबै समूह आफ्नो पक्षमा कति केन्द्रीय सदस्य छन् भन्नेर नापजाँच गर्न आजको बैठकले सहयोग गर्छ । आजको बैठकबाट प्रचण्ड–ओली पक्ष बढी नै आशावादी छन् ।

सोमबार अबेरसम्म संसद पूर्नस्थापन गरिपाउँ भन्दै सर्वाेच्च अदालतमा ११ वटा रिट हालिएको छ । कानूनी बाटोबाटै संसद ब्युँताउन सकिन्छ भनेर आश गरेका प्रचण्ड समूह आज दिउँसोको बैठकबाट ओलीलाई कार्वाही गर्न सक्ने सदस्यको संख्या आफ्नो पक्षमा हुने विश्वासमा रहेका छन् ।

२०७५ जेठ ३ मा पार्टी एकीकरण हुँदा नेकपा एमालेसँग २ सय ४१ र माओवादीबाट २ सय केन्द्रीय सदस्य थिए । ४ सय ४१ को संख्यालाई अहिलेको परिस्थितिसम्म बाँडफाँड गर्दा ओलीसँग १ सय ३० र प्रचण्ड समूहतर्फ ३ सय ११ सदस्य रहेको हुनसक्ने अनुमान छ । प्रचण्ड समूहका रहेको सदस्य संख्यामध्ये १ सय बढी माधव नेपाल पक्षका रहेको हिसाबकिताब देखिन्छ ।

सर्सति हेर्दा अदातलमा परेको रिट र प्रचण्ड–नेपालको समूहमा रहेको सदस्य संख्याले ओलीलाई कमजोर देखाउने निश्चित छ । ओलीले चालेको कदमलाई पार्टी कमिटी र अदालत दुबैबाट अवैधानिक प्रमाणित गर्न सकिने सम्भावना प्रचण्ड समूहले देखेका छन् । अंक गणितअनुसार प्रचण्ड समूह ओलीलाई पार्टीबाट निष्काशन गर्ने हैसियत राख्छ । अर्थात् नेकपा र चुनाव चिन्ह ‘सूर्य’ आफुसँग रहनेमा विश्वस्त देखिन्छ । र, यो सिनारियो प्रचण्ड समूहले बैठक बस्नु अगावै फाइनल हुन्छ ।

सम्भवतः ओलीले पनि यो परिदृश्यको आंकलन गरेका छन् । सोही अनुरुप उनले दिमागी खेल खेल्दै बिहानै बैठक डाकेका हुन् । ओलीको बैठकले प्रचण्ड समूहको पल्ला भारी हुने देखेमा घटनाक्रमले पुनः अर्काे मोड लिन सक्ने निश्चित छ । त्यसबेला प्रधानमन्त्री रहेको ओलीले संकटकाल नै लगाउने हिम्मत त नगर्लान् तर आफु अनुकुल अध्यादेश भने पक्कै जारी गर्न सक्छन् ।

कमेन्टहरु
Loading...