फाइल तस्बिर
गन्थन डेस्क
प्रधानमन्त्री केपी ओलीले प्रत्यक्ष प्रशारणमार्फत नेपाल टेलिभिजनबाट देशवासीलाई सम्बोधन गरेका छन् ।
सम्बोधनकाक्रममा प्रम ओलीले पुष्पकमल दाहाल जस्केलाबाट छिरेर प्रधानमन्त्रीको कुर्सीमा बस्न खोजेपछि लोकतन्त्र जोगाउन बाध्य भएर संसद् विघटन गरेको बताएका छन् ।
संसदमा सरकारको विरोध गर्ने प्रतिपक्ष हुँदाहुँदै आफ्नै पार्टी आरोपपत्र बोकेर हिँडेको प्रति उनले कटाक्ष गरे । ‘त्यतिमात्र हैन साथीहरु आफ्नै प्रधानमन्त्रीविरुद्ध लागेपछि म कदम चाल्न बाध्य भए’ ओलीले भने ।
पार्टी फुटाउनमात्र हैन, व्यवस्थाकै विरोध गरेको उनको भनाई थियो । पार्टी एकीकरण भई चुनाव जितेर सरकार बनाउँदा प्रचण्डलाई पार्टीको र आफुलाई सरकारको कमाण्ड सम्हाल्ने जिम्मेवारी बाँडिएपनि सत्ता र कुर्सीको आशक्तिमा प्रचण्ड लागेको उनको आरोप थियो ।
प्रधानमन्त्री ओलीले सरकार गठनको १ वर्ष नपुग्दै कुनै नेताले मुलुक बाहिर गएर अस्थिरताको सन्देश दिएका तथा प्रधानमन्त्री मुलुकमा नभएको मौका पारेर देश डुब्न लाग्यो भन्दै माझी गुहार्न थालेको आरोप लगाए । सधैभरी पदीय भागबण्डा तथा पदीय लोभले गर्दा केही नेताद्वारा नेपाली राजनीतिलाई परबन्दी बनाउन खोजिएको उनको आरोप रहेको थियो ।
सम्बोधनका क्रममा उनले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लगातार कटाक्ष गरे । प्रचण्ड प्रमुख प्रतिपक्ष दलहरुभन्दा पनि बढी षड्यन्त्रकारी तथा असहयोगी भएको उनले बताएका थिए । ‘मुलुकको यस्तो माहोलमा नियमित महाधिवेशन हुन नसक्ने हो भने पनि विषेश महाधिवेशन गरेर पद हस्तान्तरण गर्न मैले इच्छा गरें । तर महाधिवेशनका लागि साथीहरुले ४ महिना समेत कुर्न सकेनन् ।’ उनले भने, ‘उल्टै मेरो राजनीतिक चरित्र हत्या गर्ने गरी अवाञ्छित तथा अपमानित गरेर आरोपपत्र पेश गर्नुभयो, अविश्वासको प्रस्ताव ल्याउने प्रयास भए ।’
यसका साथै प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा मध्यावधि निर्वाचनको तयारीका लागि जुट्न आग्रह गरेका छन् । विगतमा भएका सबै तीतामिठा विषयलाई भुलेर निर्वाचनको तयारीस्मा जुट्न उनले आग्रह गरेका हुन् ।
‘पार्टी पहिलो शक्ति बन्नुमा, पार्टी एकता हुनुमा र पार्टीले विशाल जनसर्मथन प्राप्त गर्नुमा केपी ओलीको कुनै योगदान छैन, हामी पो निर्णायक हौं भन्ने कमरेडहरुलाई पनि लोकप्रियता र क्षमता मापन गर्ने अवसर दिने छ ।’ उनले भने, ‘प्रधानमन्त्री बन्न व्यग्र प्रतीक्षामा वा प्रयासमा रहनुभएका नेताहरुलाई पनि ताजा जनादेशले विकल्प दिने छ ।’