गन्थन डेक्स
प्रधानमन्त्रीले राष्ट्रपतिसँग राखेको संसद बिघटनको प्रस्ताव पारित भएपछि नेकपा विवाद झन पेचिलो बनेर गएको छ । अदालतले संसद बिघटनबारे प्रधानमन्त्रीको प्रस्ताबलाई खारेज गरेन भने नेकपाको विवाद नयाँ ढङ्गबाट अघि बढ्ने देखिन्छ ।
राष्ट्रपतिले संसद बिघटनमा तोक लगाएसँगै नेकपामा बहुमत प्रयोग गरी प्रचण्ड, नेपाल र खनाल समुहले ओलीलाई कारबाहीको तयारी गरिरहेको छ ।
केहि दिन अघिसम्म प्रचण्ड खेमामा रहेका नेकपाका बरिष्ठ नेता बामदेब गौतम यतिबेला भने तटस्थ छन् । नेकपामा गौतम शक्ति सन्तुलनको हिसाबले कमजोर रहे पनि निर्णायक भएको राजनीतिक विश्लेषकहरु बताउँछन् ।
प्रधानमन्त्री ओलीले गौतमलाई चुनावी सरकारको गृहमन्त्री बनाउने र भावी प्रधानमन्त्री बनाउने आश देखाएका कारण गौतम मौन रहेको विश्लेषकहरु बताउँछन् । ओलीले गौतम र रामबहादुर थापालाई आफ्नो पक्षमा ल्याउन सकेको खण्डमा पार्टीमा ओली झन बलियो बनेर जानेछन् ।
प्रचण्ड–नेपाल समुहले ओलीलाई कारबाही गरेको खण्डमा नेकपामा मुख्य लडाई चुनाव चिन्हमा पर्ने देखिन्छ । ‘सूर्य’ चुनाव चिन्ह ओली र प्रचण्ड दुबैका लागि प्रतिष्ठाको बिषय बन्नेमा दुई मत छैन ।
पार्टी सत्ता समीकरणमा प्रचण्ड समूहले चुनाव चिन्ह सूर्य हात पारेका खण्डमा ओली समुहले नेकपा एमाले दल दर्ता गरी ‘उदाउँदो सूर्य’ चुनाव चिन्ह लिएर निर्वाचनमा सहभागी हुनेछन् ।
संसद बिघटन भएसँगै नेकपामा को नेता कतातिर र कसको चुनाव चिन्ह के हुने ? भन्ने विषयले धेरै अर्थ राख्छ । संसद बिघटनले नेकपा बिभाजनको कुरालाई कसैले पनि रोक्न सक्ने अवस्था देखिदैन ।