कोभिडबाट विदेशमा थप ११ को निधन

काठमाडौं । कोभिड– १९ को संक्रमणबाट विदेशमा थप ११ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार विगत २ सातामा युएईमा मात्र थप ८ जना नेपालीको निधन भएको छ भने यो साता मलेसियामा १ र केन्यामा १ नेपालीको निधन भएको हो ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका हालसम्म विदेशमा ५२ हजार १ सय ५७ जनामा कोभिड–१९ संक्रमण देखिएको छ । तीमध्ये ४९ देशका ४९ हजार १ सय १० नेपाली कोरोना संक्रमणबाट मुक्त भएका छन् । यो कूल संक्रमितको ९४ प्रतिशत रहेको हो ।

शनिबार साँझसम्म विश्वका विभिन्न २१ मुलुकमा रहेका संख्या ३ सय १२ जनाको कोरोना संक्रमणका कारणले निधन भएको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले जानकारी दिएका छन् । उनका अनुसार यो साता मलेसिया, भारत, कतार, युएई, नाइजेरिया, साउथअफ्रिका, क्यानाडा, अष्ट्रिया, जापान र दक्षिण कोरियामा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको छ ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिले क्रिसमशलगायत अंग्रेजी नयाँ वर्षका अवसरमा भीडभाड कम गर्न र सकेसम्म घरभित्रै बसेर पर्व मनाउन आग्रह गरेको छ । क्रिसमस र नयाँ वर्षका अवसरमा मानिस ठूलो संख्यामा उपस्थित हुने तथा समारोह गर्ने भएकाले त्यसबाट संक्रमणको उच्च जोखिम रहने भएकाले त्यसो नगर्न समितिले आग्रह गरेको हो ।

महामारीको जोखिम कम नभएको र विशेषतः यूरोपेली मुलुकमा संक्रमण अस्वभाविक रुपमा फैलिरहेको भन्दै ती मुलुकमा रहेका नेपालीले अझै सावधानी अपनाउनुपर्ने समितिका संयोजक सापकोटाले बताए । यसैबीच समितिले विश्वका विभिन्न मुलुकले कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिसकेको र त्यहाँस्थित केही नेपालीले पनि खोप लगाएकाप्रति खुसी व्यक्त गरेको छ ।

यद्यपि खोपको सर्वव्यापी सहजता नभएको र अझै कयौं देशमा खोप आउन बाँकी रहेकोले सावधानी आवश्यक रहेको समितिका संयोजक सापकोटाले बताए । उनले अनिवार्य मास्क र स्यानिटाइजरको प्रयोग गर्न पनि सबैलाई आग्रह गरेका छन् । रासस

कमेन्टहरु
Loading...