पोखरा । अनेरास्ववियू कास्की जिल्ला सह–संयोजक बसन्त भट्टचनले एकता विरोधी तत्वसंग आफूहरु एकढिक्का भई प्रतिरोधमा उत्रने बताएका छन् ।
आज शनिबार पोखराको पृथ्वीनारायण क्याम्पसमा भएको भेलालाई सम्बोधन गर्दै उनले बिहिबार म्याग्दीमा संगठनको सहसंयोजकप्रति भएको दुरव्यवहार समग्र कम्युनिस्ट माथि प्रहार बताए । उनले कु–प्रचार र सामान्तवादी चिन्तक बोकेकालाई चेतावनी दिँदै नसचिए आफूहरुले विधिको डण्डा चलाउने बताएका छन् । म्याग्दी घटनालाई खबरदारी गर्न यो भेला आवश्यक रहेको भट्टचनको भनाई थियो ।
तत्कालीन अखिल क्रान्तिकारी म्याग्दीका उपाध्यक्ष यामनाथ पौडेलको श्रद्धाञ्जलीसभामा सहभागी भएका सहसंयोजक रञ्जित तामाङलाई गुट भेला आयोजना गरेको भन्दै दुरव्यवहार हुनु सह्य नहुने उनले बताएका छन् ।
स्व.पौडेलको श्रद्धाञ्जलीसभामा पुग्नु र नेता कार्यकर्तालाइ भेट्नु कुनै नौलो विषय नभएको उनको भनाई थियो । सह संयोजकलाइ खेदेको भन्ने समाचारमा सत्यता नरहेको समेत उनले स्पष्ट पारेका छन् । ‘२० जनाले ५ जनालाइ लखटेको कतै सुन्नुभएको छ भने यस्ता अफवाहका पछि नलाग्न आग्रह गर्छु ।’ उनले भने ।
अनेरास्ववियू पृथ्वीनारायण क्याम्पसका कार्यवाहक अध्यक्ष सन्तोष न्यौपानेले म्याग्दी घटना सामाजिक सञ्जालमा भएको प्रचारबाजी जस्तो नरहेको बताए । ‘जसरी मिडियामा प्रचारबाजी भएको छ, त्यो सत्य नरहेको होइन । कहिले पनि २५ जनालाई ५ जनाले खेद्न सक्दैनन् ।’ उनले भने । म्याग्दी घटनालाइ जोड्दै न्यौपानेले संगठनका सहसयोंजक माथि भएको दुव्र्यवहार सिंगो कम्युनिस्ट आन्दोलनमाथि प्रहार भएको बताएका छन् ।
शनिबार पृथ्वीनारायण क्याम्समा आयोजना भएको कार्यक्रममा प्रदेश कमिटी सदस्य मदन आले, अनेरास्ववियू केन्द्रीय सदस्य गोविन्द गौतम, सुदिन पौडेल, सुसान्त ताम्रकार र तनहुँ जिल्लाका राष्ट्रय युवा संघ नेपालका संयोजक इश्वर बस्याल साथै अनेरास्ववियू क्रान्तिकारी पृथ्वीनारायण क्याम्सका पूर्व अध्यक्ष त्रिदिव गुरुङको सहभागिता थियो ।