पुसको ठिहीमा पनि अग्लिदैँछ २२ तल्ले धरहरा

दिपक के श्रेष्ठ

 

२०७२ साल वैशाख १२ गते दिउँसो करिब ११ः५५ बजेको भुइँचालो ढलाएको देशको शान भिमसेन स्तम्भ (धरहरा) अग्लिने क्रम जारी छ ।

तत्कालीन प्रधानमन्त्री भिमसेना थापाले वि.सं. १८८२ मा निर्माण गरेको ११ तल्ले धरहरा ९० सालको भूकम्पले ९ तलामा झारिदियो । त्यसपछि ०७३ सालको भूकम्पले नामोनिशान मेटिएको धरहरा ७३ सालदेखि पुनःनिर्माण हुँदैछ ।

हाल निर्माणाधीन धरहरा गजुरसहित २२ तल्ले हुुनेछ । पहिले नेपाल टेलिकमलाई निर्माणको जिम्मा दिएपनि उसले असमर्थता जनाएपछि अहिले जिआइइटिसी-रमन जेभीले धरहरा ठड्याउँदैछ ।

 

पुसको चिसोमा पनि बिहान ६ बजेदेखि लिफ्टमा झुण्डिएर धरहराको उचाइतर्फ उक्लिँदै गरेका कामदारहरुको जोशले बटुवा र वरपरका मानिसको मस्तिष्कमा ७३ सालको सम्झनालाई पूनर्ताजगी गराउँछ ।

४२ रोपनीको क्षेत्रफल समेटेर बनाइँदै गरेको धरहराले ३ तले पार्किङको पनि सुविधा दिँदैछ । जहाँ ३ सय ५० गाडी र करिब ६ हजार मोटरसाइकल पार्किङ गर्न सकिनेछ । त्यस्तै, सोही परिसरमा संग्रहालय र मनोरम बगैंचाको निर्माण पनि हुँदैछ ।

राष्ट्रिय पुनर्निमाण प्राधिकरणको निर्देशनमा जेभीले निर्माण गरिरहेको धरहरा प्रोजेक्टको कूल लागत ३ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । जसको कूल उचाई ७२ मिटर हुनेछ ।

निर्माण सुरु भएको २ वर्षपछि सम्पन्न हुने भनिए पनि कोरोना कहरकाकारण कामदार र सामग्रीको अभावले समयसीमा लम्बिने भएको छ । हालसम्म करिब ५० प्रतिशत काम सकिएको छ । निर्माण सम्पन्न गर्न कति समय थप गर्नेविषयमा प्राधिकरण र रमन कन्सट्रक्सनबीच छलफल हुने बताइएको छ ।

सुरुवाति दिनमा ३ सय ५० हाराहारीमा रहेका कामदार लकडाउनकाबीच मुस्किलले ४० जना रहेका थिए । हाल १ सयको हाराहारीमा कामदार रहेका छन् ।

भिडियाे

 

कमेन्टहरु
Loading...