सांसद चौधरी तथा थारुलाई जन्मकैदको सजाय भएकोमा जसपा अध्यक्ष भट्टराईद्वारा असन्तुष्टि व्यक्त

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले सांसद रेशमलाल चौधरी तथा लक्ष्मण थारुलाई जन्मकैदको फैसला गरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

कैलालीको टीकारपुरमा भएको घटनामा मुख्य दोषी ठहर भएका सांसद चौधरी तथा थारुलाई जिल्ला अदालत कैलालीले सुनाएको जन्मकैदको फैसलालाई उच्च अदालतले सदर गरेको थियो । सोही फैसलालाई लिएर डा.भट्टराईले असन्तुष्टि व्यक्त गरेका हुन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् यथास्थितिको रक्षार्थ कानुन तथा अदालत बन्ने तर उत्पीडित थारु जातिको मुक्तिको अभियानमा लागेकालाई अदालतले दोषी ठान्नु नौलो नभएको बताएका छन् ।

‘यथास्थितिको रक्षार्थ कानुन, अदालत बन्छन् । अतः उत्पीडित थारु जातिको मुक्ति अभियानमा लागेका सांसद रेशम चौधरी, लक्ष्मण थारु लगायतका थारु नेतालाई अदालतले दोषी ठान्नु नौलो भएन ।’ उनले ट्वीटरमा लेखेका छन्, ‘विडम्बना झापा विद्रोह र जनयुद्धका नायकहरुको राजमा थारु विद्रोह अपराध ठहरियो । यो अन्याय सैह्य छैन । थारु नायकहरुलाई सलाम ।’

कैलालीको टीकापुरमा २०७२ साल भाद्र ७ गते थरुहटको माग गर्दै भएको आन्दोलनका क्रममा निकालिएको जुलुशमा १ जना प्रहरी वरिष्ठ उपरीक्षक सहित ७ जना प्रहरी तथा १ जना नाबालकको ज्यान गएको थियो ।

सोही घटनामा मुख्य दोषी भएको ठहर गर्दै उच्च अदालतले जिल्ला अदालत कैलालीको निर्णय सदर गरेको हो ।

कमेन्टहरु
Loading...