काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषदको बैठक स्थगित भएको छ । प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएपछि परिषद बैठक स्थगित गरिएको हो ।
पार्टीभित्रै र बाहिर तीव्र आलोचना भएपछि प्रधानमन्त्री ओलीले बुधबार मात्र नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग संवैधानिक परिषद् सम्बन्धी विवादास्पद अध्यादेश फिर्ता लिने सहमति गरेका थिए ।
बुधबार नेकपाका ८३ जना सांसदले संसदको विशेष अधिवेशन माग गर्दै राष्ट्रपति कार्यालयमा निवेदन दर्ता गर्न पुगेपछि ओली र दाहालबीच अध्यादेश फिर्ता लिने सहमति बनेको थियो ।
तर अध्यादेश फिर्ता लिनुभन्दा पनि उहाँले बिहीबार साँझ ५ः ३० बजेका लागि परिषद् बैठक राख्नुभएपछि नेकपाभित्र खैलाबैला मच्चिएको थियो । अध्यादेश फिर्ता गर्ने सहमति भएको भोलिपल्ट प्रधानमन्त्री ओलीले बिहीबार ५ बजे परिषदको बैठक बोलाएका थिए ।