दिपक के श्रेष्ठ
सोमबार नेपाली कांग्रेसको केन्द्रीय निर्णयअनुरुप देशैभर सरकारविरुद्ध खबरदारी र प्रदर्शन भयो ।
सर्वसत्तावादको विरोधस्वरुप भएको कार्यक्रममा केन्द्रले प्रत्येक जिल्ला सदरमुकाममा प्रदर्शन गर्न १२ वटा नारासँगै प्रतिनिधिमूलक ब्यानर अनिवार्य गरेकोे थियो । सोही अनुरुप म्याग्दीको रघुगंगा गाउँ कार्यसमितिले पनि ब्यानरसहित सहभागिता जनायो ।
म्याग्दीमा आयोजित कार्यक्रम शानदार ढंगले सफल भएपछि रघुगंगा कार्यसमितिले आफुले बोकेर हिँडेको ब्यानर हेरेपछि आफै जिल्ल प¥यो । ब्यानरमा नेपाली कांग्रेसको सट्टा ‘नेपानी कांग्रेस’ लेखिएको थियो । त्यो पनि ठूलो अक्षरमा (हे. तस्बिर)
रघुगंगाका सहभागीले त्यो ब्यानरसहित ¥याली गरे, सभामा उपस्थित भए । यसबीच कसैले मेसो पाएनन् । अन्य सहभागीको पनि त्यसतर्फ ध्यान गएन । जसै कार्यक्रम सकियो तब ‘नेपानी’ देखियो ।
यस विषयमा म्याग्दी कांग्रेसका निवर्तमान सभापति रेशम बाँनिया भन्छन्, ‘गाउँका मान्छे छापाखानामा अर्डर दिएका रहेछन्, उसले छापेर पट्याएर राखिदिएको रहेछ । हाम्रा साथीहरुले लिएर सिँधै ¥यालीमा प्रवेश गरे ।’
म्याग्दीमा सबैलाई ब्यानरसहित आउन पार्टीले निर्देशन दिए अनुरुप रघुगंगा पनि सोहीरुपमा सहभागी भएको हो ।
कार्यक्रममा आएर एकैपटक खोल्दा कसैले पनि याद नगरेको बाँनियाले बताए । ‘कार्यक्रम सिद्धिएपछि बल्ल थाहा भयो’ उनले भने ।
छापाखानले गल्ती गरेको जनाउँदै यसलाई सामान्य मान्न म्याग्दी कांग्रेसको आग्रह छ । सभामा सहभागी प्रायःले सामाजिक सञ्जालमा तस्बिर आएपछि बल्ल थाहा भएको प्रतिक्रिया दिए ।
‘कतै यो फोटोसप वा प्रविधिको प्रयोग गरी कांग्रेसलाई बदनाम गर्न खोजिएको त हैन?’ जवाफमा बाँनिया भन्छन्, ‘हैन, त्यो छापाखानाकै गल्ती रहेछ, कसैले प्रोपगण्डा गरेको हैन ।’
तस्बिरः शिव आचार्य