क्यान्सरपीडित नेपालीलाई आमा समूहको सहयोग

पोखरा । घाँटीको क्यान्सरबाट पीडित शंकर नेपालीलाई शुभकामना आमा समूहले आर्थिक सहयोग गरेको छ । पोखरा महानगरपालिका १७ रातोपैह्राका ६५ वर्षीय नेपालीको उपचारार्थ स्थानीय आमा समूहले ११ हजार ६ सय ४५ आर्थिक सहयोग गरेको हो ।

नेपालीको निवासमा सोमबार आयोजित १ कार्यक्रमका बीच शुभकामना आमा समूहका अध्यक्ष हिरादेवी अधिकारीले क्यान्सरपीडित नेपालीकी श्रीमती रत्नकुमारी नेपालीलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । सबैको सहयोगले क्यान्सरजस्तो रोगसँग लडिरहेका नेपालीको उपचारमा सहयोग पुग्ने उद्देश्यका साथ समूहले सानो भए पनि सहयोग गरेको उपस्थित आमा समूहको सामूहिक धारणा रहेको छ ।

ज्याला मजदूरी गरेर जीविकोपार्जन गर्दै आएका नेपालीको हाल पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । बन्दाबन्दीसँगै उहाँले बाँसका विभिन्न सामग्री बनाएर बिक्री गर्दै आएका थिए । कमाउने श्रीमानलाई जटिल रोग लागेपछि अहिलेसम्म उपचार गर्दा ३ लाखभन्दा बढी खर्च भइसकेको उहाँकी श्रीमती रत्नकुमारी नेपालीले गहँभरि आँशु पारेर दुखेसो पोखिन् ।

यसअघिको उपचारमा स्वास्थ्य बीमा र गाउँपालिकाको सिफारिसमा अस्पतालले केही रकम छुट भएर सुविधा पुगे पनि आगामी दिनमा उपचारका लागि कुनै पनि विकल्प नभएको भन्दै उनले विभिन्न संघसंस्था एवं व्यक्तिसँग सहयोगका लागि आग्रह गरेकी छिन् । कोरोना भाइरसका कारण मुलुकमा बन्दाबन्दी भएसँगै श्रीमान्ले बाँसका चोयाका सामग्री बनाएर बिक्री गर्नु र आफू तरकारी खरिद बिक्री गर्दै आउनुका साथै छोराछोरीले पनि मजदूरी गरेर उनको सिंगो परिवार चल्दै आएको थियो । रासस

कमेन्टहरु
Loading...