पोखरा महानगरमा अझै निस्किएन पौने २ करोडको हिसाब

रिना थापा । अघिल्लो आर्थिक वर्षको अन्त्यसँगै पोखरा महानगरपालिकामा बेरुजु देखिएको १ करोड ७३ लाख ११ हजार ९ सय ७८ रुपैयाँका हिसाबकिताब अझै मिलेको छैन । हिसाब नमिलेपछि साउनमा मेयर मानबहादुर जिसीले २५ दिन भित्र विवरण पेश गर्ने बताएपनि अहिले साढे ३ महिना बितिसकेको छ ।

पोखरा महानगरका सूचना अधिकारी भरतराज पौडेलले यस विषयमा छानबिन भइरहेको मात्र जानकारी दिएका छन् । छानबिन कहाँसम्म पुग्यो भन्नेमा पौडेल नै अनभिज्ञ छन् । उनले यस विषयमा निष्पक्ष र तटस्थ छानबिन गर्न सजिलो होस् भनेर चार्टर्ड एकाउन्टेन्टसम्बद्ध कन्सलटेन्सीलाई जिम्मा दिएको बताए ।

‘कन्सलटेन्सीले सम्झौता भएपछि काम कहाँसम्म पुग्यो जानकारी आएको छैन’ पौडेल भन्छन् ‘निष्पक्ष छानबिन होस् भनेर उनीहरुलाई जिम्मा दिएपनि हालसम्म कुनै जानकारी आएको छैन ।’ निष्पक्ष छानबिनको जिम्मा लिएको कन्सलटेन्सीका कर्मचारीले फोन रिसिभ नगरेको उनको गुनासो छ । महानगरले कन्सलटेन्सीलाई दिएको समयसीमाबारे बताउन चाहेन ।

कन्सलटेन्सीका राजन पौडेलले भने काम भइरहेको बताएका छन् । उनले महानगरले दिएको समयावधि बाँकी रहेको बताएपनि अन्तिम मिति खुलाउन चाहेनन् । नयाँ आर्थिक वर्ष सुरु भएसँगै महानगरभित्रको अनियमितता बाहिरिएको थियो । ठेक्का, कन्सट्रक्सन, विज्ञापन करदेखि वडाध्यक्षको अनियमितता बाहिरिएपछि नागरिकस्तरबाट विरोध भएको थियो ।

निरन्तरको विरोध र प्रदर्शनपछि महानगरले छानबिन गरी स्पष्ट पार्ने वचन दिएपनि हालसम्म सार्वजनिक गर्न सकेको छैन । समयसीमा तोके लगत्तै जयराम पौडेलको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो । छानबिन समिति बनेर काम सुरु हुँदै गर्दा समितिलाई असहयोग भएको जानकार बताउँछन् ।

गत वर्षको चैत ११ गते पोखरा महानगरपालिकाको सञ्चित कोषको खाता र राष्ट्रिय वाणिज्य बैंकको खातामा आम्दानी रकममा फरक परेको थियो । असारको अन्त्यतिर करिब १३ करोड रुपैयाँको हिसाब नमिलेपछि ठूलै भ्रष्टाचार भएको आशंकाबीच महानगरले १ करोड ७३ लाख ११ हजार ९ सय ७८ रुपैयाँको हिसाब नमिलेको स्वीकार गरेको थियो । उक्त रकम लेखा महाशाखा र राजश्व शाखामार्फत छानबिन गरी २५ दिनभित्र विवरण पेश गर्ने महानगरले प्रतिबद्धता जाहेर गरेको थियो ।

कमेन्टहरु
Loading...