नेपालमा कोरोना संक्रमणको दर घट्यो, २४ घण्टाको अवधिमा ८ सय ३० जना थपिए

पोखरा । नेपालमा थप ८ सय ३० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ३० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । पछिल्लो पटक गरिएको पिसिआर परीक्षणका क्रममा रिर्पोट पोजेटिभ आएकामध्ये ३ सय ३० जना महिला तथा ५ सय जना पुरुष रहेका छन् ।

यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ४८ हजार ४ सय २३ पुगेको छ । हाल नेपालमा १० हजार ९ सय ९४ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा ५ हजार १ सय ८१ जनाको पिसिआर परीक्षण गरिएको थियो । यस्तै यो अवधिमा नेपालमा थप १ हजार ५ सय जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ३५ हजार ७ सय ३१ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टनमा नेपालमा थप ९ जनाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ हजार ६ सय ९८ पुगेको छ ।

हाल नेपालमा ६ हजार २ सय ३२ जना संक्रमितहरु होम आइसोलेसनमा रहेका छन् । त्यस्तै २ सय ९४ जना संक्रमितको आइसियु तथा ५२ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

कास्की सहित काठमाडौं तथा ललितपुर नेपालमा ५ सयभन्दा माथि उपचारार्थ कोरोना भाइरस संक्रमित रहेका छन् । त्यस्तै मनाङ मात्र सक्रिय संक्रमितको सुन्य संख्या भएको जिल्ला हो ।

कमेन्टहरु
Loading...