रातारात संरचना बनाउन लागेपछि महानगरले उठायो फेवा किनारका निर्माण सामाग्री

पोखरा । फेवातालमा पानीको सतह घटेको मौका पारेर खपौदी क्षेत्रमा स्थानीयले बनाएको पर्खाल लगायतको संरचना पोखरा महानगरले भत्काएपछि विवाद उत्पन्न भएको छ । महानगरपालिकाले उक्त संरचनाहरु भत्काएको भए पनि स्थानीयले शनिबार साँझ फेरी सामान लगेर राखेका थिए । उक्त सामानहरुलाई पोखरा महानगरपालिकाले पुनः जफत गरेको छ ।

सामान जफत गर्ने क्रममा उक्त स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको थियो । उक्त स्थानमा स्थानीयले रातारात संरचना निर्माण कार्यलाई तीव्रता दिएका थिए । महानरपालिकाले सामान जफत गर्नुका साथै रातारात निर्माण भएका ती संरचनालाई फेरी भत्काइदिएको छ ।

यता रातारात निर्माण भएको संरचना नभत्काउन आफूलाई धम्की आएको पोखरा महानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष रणबहादुर थापाले बताएका छन् । ‘वर्षायाममा आउने पहिरोबाट बच्न संरचना बनाउने क्रममा केही व्यक्तिले संरचना बनाउन थाले । तल किनारबाटनै पर्खाल लगाएर अतिक्रमण गर्ने क्रम पछि बढ्यो । यसलाई निरुत्साहित गर्नुपर्छ भनेर हामी लागि परेका हौं ।’ उनले भने, ‘अनाधिकृत रुपमा बनेका संरचनालाई जे जस्तो धम्की तथा कुरा आए पनि हटाउँछौं ।’

यसअघि महानगरले उक्त क्षेत्रमा बनेको संरचना भत्काउन भन्दै उनीहरुसमक्ष लिखिरत सम्झौता गर्ने प्रयास गरेको थिए । ताल किनारमा केही भू–भागको लालपूर्जा भएपनि महानगरले कुनैपनि संरचना बनाउन नदिन नक्सापाशको काम यसअघि नै रोकेको छ ।

त्यस्तै, हाल ताल सिमांकन समितिले अबको केही महिनामा फेवा र व्यक्तिले चर्चेको जग्गाको छिनोफानो गर्ने योजनाकासाथ काम गरिरहेको छ । समितिले टुंगो नलगाउञ्जेल ताल छेउछाउ कुनैपनि संरचना निर्माण गर्न नपाउने महानगरका प्रवक्ता धनबहादुर नेपालीले बताएका छन् ।

कमेन्टहरु
Loading...