पोखरामा फिष्टेल नेपालको प्याराग्लाइडिङ दुर्घटनाको छानविन गर्न समिति गठन

पोखरा । यही मंसिर ८ गते पोखरामा फिष्टेल नेपालको प्याराग्लाइडिङ दुर्घटनाको छानविन गर्न ३ सदस्यीय समिति गठन गरिएको छ । कोभिड–१९ का महामारीबीच पनि आन्तरिक पर्यटकले निकै रुचाएको प्याराग्लाइडिङ उडानमा अनुभवी प्यारा पाइलट राजु गैरे (नेपाल) को निधन भएपछि दुर्घटनाको सत्यतथ्य बुझ्न छानविन समिति गठन गरिएको हो ।

दुर्घटनामा टेन्डम पाइलटको ज्यान गएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले ३ सदस्यीय छानविन समिति गठन गरेको थियो । प्राधिकरणका एयर ट्राफिक सर्भिस अफिसर अनुप जोशीको संयोजकत्वमा प्याराग्लाइडिङ पाइलट दीपक थापा र प्राधिकरणका अधिकृत देवराज सुवेदी सदस्य रहने गरी छानविन समिति गठन गरेको हो । समितिले ३० दिनभित्र प्राधिकरणलाई प्रतिवेदन पेश गर्नेछ ।

त्योसँगै प्राधिकरणले नेपाल हवाई खेलकूद संस्था (एनएए) लाई पनि दुर्घटनाका बारेमा जवाफ मागेको थियो । झण्डै २ दशकदेखि प्याराग्लाइडिङको क्षेत्रमा क्रियाशील रहेको एनएएले पछिल्लो दुर्घटनामा प्यारा पाइलट नै दोषी भएको निष्कर्षसहितको प्रतिवेदन प्राधिकरणलाई बुझाएको छ । एनएएका उपाध्यक्ष नारायणप्रसाद पराजुलीको संयोजकत्वमा ५ सदस्यीय अध्ययन समितिले उक्त दुर्घटनाका विभिन्न पक्षको प्रक्रियागत अध्ययन गरी बुझाएको प्रतिवेदनको अन्तिम निष्कर्षमा ‘पछिल्लो समयमा विकसित भएको अतिरिक्त गतिविधिमध्येको फूल टिपी प्यासेन्जरलाई दिन खोज्दा देब्रे हातको ब्रेक छुट्न गएको र ग्लाइडर असन्तुलित हुँदा स्पिन भएको र स्पिडमा झरी दुर्घटना भएको’ उल्लेख गरिएको छ ।

त्यसैगरी प्राधिकरणबाट ८ जना प्यारा पाइलट नियम विपरीतको गतिविधिमा संलग्न भएको भन्ने पत्र संस्थामा आएको पराजुलीले जानकारी दिएका छन् । उनले भने, ‘प्राधिकरणले सुरक्षा विपरीत गतिविधिमा संलग्न भएका ८ प्यारा पाइलटको नामसमेत पठाएको छ, उहाँहरु प्राधिकरणमा उपस्थित भएर आफ्नो जवाफसमेत दिइसक्नुभएको छ ।’ पराजुलीले प्राधिकरणको छानविन प्रतिवेदन आएपछि मात्र अन्य थप कुरा थाहा हुने बताए ।

नागरिक उडड्यन प्राधिकरणअन्तर्गत छानविन समितिका सदस्यसचिव सुवेदीले उडानको समयमा नियम विपरीतका गतिविधिमा संलग्न केही पाइलट छानविनमा तानिएको बताए । प्राधिकरणअन्तर्गत दुर्घटनाको छानविनसँगै नियम विपरीतका गतिविधि भइरहेको सन्दर्भमा छानविन भइरहेको छ । सुवेदीले छानविनमा भएका पाइलटले तत्काल उडान गर्न नमिल्ने जनाउँदै कस्तो खालको कारवाही हुन्छ भन्ने प्रतिवेदन सार्वजनिक पछि मात्र थाहा हुने बताए । उनका अनुसार प्राधिकरणले आगामी पुसको १० गते प्रतिवेदन सार्वजनिक गर्नेछ ।

हवाई खेलकूद संस्था (ना) २०५९ मा स्थापना भएको र २०७५ साल चैतबाट नागरिक उड्डयन प्राधिकरणले नालाई अनुगमन, लाइसेन्स वितरण र नवीकरण गर्ने अधिकार प्रदान गरेको हो । पोखरामा प्याराग्लाइडिङ उडान अनुमति लिएका ३३८ प्यारापाइलट छन् जसमा १२ महिला छन् । पोखरामा ६१ प्याराग्लाइडिङ कम्पनी छन् भने १ अर्ब बढीको लगानी रहेको छ । रासस

कमेन्टहरु
Loading...