पोखरा । कास्कीमा थप १ जनाको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले पछिल्लो पटक कास्कीमा थप १ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको जानकारी दिएको हो ।
कोरोना संक्रमणबाट ज्यान गुमाउनेमा जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ का ७६ वर्षीय पुरुष रहेका छन् । उनको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार दिउँसो साढे ४ बजे निधन भएको हो ।
उनलाई मंसिर २५ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संखया १ सय ८२ पुगेको छ ।
यता पोखरामा थप ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा पोखरामा थप ३ जनालाई संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरु पोखरा १६ का ४० वर्षीय १ जना महिला तथा १७ का ३४ र ४३ वर्षीय २ जना पुरुष रहेका छन् ।
केही अगाडिको तथ्यांक अनुसार पोखरामा ६६ जनालाई संक्रमण पुष्टि भएको थियो । यससंगै यो समाचार तयार पार्दासम्म पोखरामा ६९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यस्तै गण्डकी प्रदेशका अन्य जिल्ला नवलपरासी पूर्वमा ३ जना, जमजुङ, गोरखा तथा बाग्लुङमा १/१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १३ हजार २ सय ५१ पुगेको छ ।