फेवा किनारका अवैध संरचनामा महानगरले डोजर लगायो

दिपक के श्रेष्ठ

 

फेवातालमा पानीको सतह घटेको मौका पारेर खपौदी क्षेत्रमा स्थानीयले बनाएको पर्खाललगायतको संरचना पोखरा महानगरले भत्काएको छ ।

 

केही दिन अघि उक्त क्षेत्रमा रहेका केही रेष्टुरेन्टले ताल संरक्षण गर्ने नाममा पर्खाल लगाएर बगैंचा बनाउने बताएका थिए । तर तालको सिमांकन गरिने र मुआब्जा दिने चर्चा चलेसँगै केहीले ताल किनारमा पर्खाल लगाएका थिए ।

 

ताल किनारमा पर्खाल लगाएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि चौतर्फी दबाबका कारण पोखरा महानगरले खपौंदी स्थित ताल किनारमा निर्मित संरचना डोजर लगाएर भत्काएको छ। उक्त पर्खाल भत्काउन पोखरा महानगर, नेपाल प्रहरी र निरीक्षण महाशाखाको संयुक्त पहलमा सम्भव भएको छ ।

 

यसअघि महानगरले उक्त क्षेत्रमा बनेको संरचना भत्काउन भन्दै उनीहरुसमक्ष लिखिरत सम्झौता गर्ने प्रयास गरेको थिए । ताल किनारमा केही भू–भागको लालपूर्जा भएपनि महानगरले कुनैपनि संरचना बनाउन नदिन नक्सापाशको काम यसअघि नै रोकेको छ ।

 

त्यस्तै, हाल ताल सिमांकन समितिले अबको केही महिनामा फेवा र व्यक्तिले चर्चेको जग्गाको छिनोफानो गर्ने योजनाकासाथ काम गरिरहेको छ । समितिले टुंगो नलगाउञ्जेल ताल छेउछाउ कुनैपनि संरचना निर्माण गर्न नपाउने महानगरका प्रवक्ता धनबहादुर नेपालीले बताएका छन् ।

कमेन्टहरु
Loading...