काठमाडौं । यही मंसिर २९ गते नेपाली कांग्रेसले देशैभरी सडक आन्दोलन गर्दै छ ।
सरकारको नकारात्मक प्रवृत्ति, कोरोना महामारी न्यनीकरण गर्न असफल भएको तथा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा पुल उद्घाटनका क्रममा गरिएको धरपकडको विरुद्धमा नेपाली कांग्रेसले देशभरी विरोध प्रर्दशन गर्ने भएको हो ।
देशैभरी हुने कार्यक्रमका लागि पार्टीले नारा तथा जिल्लाको नेतृत्व गर्ने नेताहरुको नाम टुंगो लगाएको छ ।
पार्टीले केन्द्र तहबाट नै सो दिनका लागि १० वडा नारा तय गरेको छ । सो दिन प्रर्दशनका क्रममा केन्द्रले तय गरेको नारा बाहेकका अन्य नारा लगाउन नपाइने भएको छ । यस्तै प्रर्दशनका क्रममा विभिन्न नेताहरुले सम्बोधन गर्ने भएका छन् ।
यसैबीच पोखरामा कांग्रेस नेता अर्जुननरसिंह केसी आउने भएका छन् । उनले पोखरामा हुने सरकार विरुद्धको प्रर्दशनमा सम्बोधन गर्ने तय भएको छ । पार्टी सभापति शेरबहादुर देउवा उक्त दिनमा हुने प्रर्दशनका लागि हेटौंडा पुग्दै छन् । त्यहाँ उनले सम्बोधन गर्ने बताइएको छ ।
काठमाडौंमा हुने कार्यक्रममा रामचन्द्र पौडेलले सम्बोधन गर्ने तय भएको छ । त्यस्तै विराटनगरमा पार्टी महामन्त्री शशांक कोइराला, भक्तपुरमा उपसभापति विमलेन्द्र निधि, पार्टीकी कोषाध्यक्ष सीतादेवी यादवले ललितपुरको विरोध कार्यक्रमलाई सम्बोधन गर्ने तय भएको छ ।
काभ्रेमा आयोजना हुने कार्यक्रममा पार्टीका पूर्वउपसभापति गोपालमान श्रेष्ले सम्बोधन गर्ने भएका छन् । त्यस्तै धनुषाका लागि पूर्वमहामन्त्री प्रकाशमान सिंह तय भएका छन् । सहमहामन्त्री प्रकाशशरण महतले भने झापामा हुने कार्यक्रमलाई सम्बोधन गर्ने पार्टीले तय गरेको छ ।
यता महोत्तरीको कार्यक्रममा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, रामशरण महतले चितवन तथा चित्रलेखा यादवले सप्तरीमा आयोजना हुने विरोध कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् । पार्टीले एनपी साउदलाई अछाम, प्रदीप पौडेललाई कञ्चनपुर तथा गगन थापालाई कैलालीको कार्यक्रममा पठाउने निर्णय गरेको छ ।