राजु गिरी, पोखरा ।
सञ्चारकर्मी दुर्गा अधिकारीको लेख संग्रह ‘समाज, सञ्चार र राजनीति’ पुस्तक आज विमोचन गरिएको छ । संग्रह पुस्तकको विमोचन राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले गरेका हुन् । विमोचन पश्चात बोल्दै तिमिल्सिनाले समाजका सकारात्मक र नकारात्मक दवै कुरालाई उठान गर्नुपर्ने बताए । नकारात्मक कुरालाई बढि उठान गर्दा समाजमा नराम्रो म्यासेज जाने हुँदा दुवै कुरालाई उठाएर सन्तुलित सूचना सम्प्रेषण गर्न आग्रह गरे ।
साथै कोभिडको यो महामारीमा कोभिडसम्वन्धि सहि सूचना प्रवाह गरिदिन समेत उनले आग्रह गरे । ‘हामी सबैको अनुशासित प्रयासले नै कोभिडलाई जित्न सकिन्छ ।’ –उनले भने ।
पत्रकार तथा अन्नपूर्ण पोष्ट गण्डकी व्युरोका सम्पादक केशवशरण लामिछानेले पुस्तकको समिक्षा गर्दै संसार बदल्न पहिला आफु बदलिन जरुरी रहेको कुरालाई उठान गरिएको बताए । समाज र सञ्चारका कुरालाई तथ्यपरक राखिएको र राजनीति सुन्दा एक थरिको तर भोगाई फरक हुने विषयलाई उठान गरिएको लामिछानेले बताए ।
त्यसैगरि नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले पुस्तक लेखहरुको त्रिवेणी भएको बताए । समाजका प्रवृत्ति, सञ्चार र राजनीतिलाई बुझ्नका लागि पुस्तकले सहायता गर्ने श्रेष्ठले विश्वास व्यक्त गरे ।
लेखक दुर्गा अधिकारीले कोभिडका बेला घरमै बसिरहँदा लेख संग्रहलाई संकलित गरि पुस्तक निकालेको अनुभव सुनाईन् । आफ्नो बिचारलाई प्रस्तुत गर्नका लागि पछिल्लो समय अग्रसर रहेको समेत उनले सुनाईन् । पुस्तक विमोचन पश्चात आफु झन प्रेरित भएको र अझ निखारताका साथ अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरिन् ।