प्याराग्लाइडिङ प्रकरणः एसियन गेम्सका विजेता युकेश र अन्तर्राष्ट्रिय पाइलट एलिसमाथि नै प्रतिबन्ध !

दिपक के श्रेष्ठ

गत ८ गते पोखरामा भएको प्याराग्लाइडिङ दुर्घटनापछि नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले ८ पाइलटलाई उडानमा रोक लगाएको छ । क्यानले रोक लगाएकामध्ये केही अन्तर्राष्ट्रियस्तरमा ख्याती कमाएका पाइलटहरु पनि छन् । जसमध्ये एक हुन्, एशियन गेम्समा काँस्य पदक विजेता युकेश गुरुङ ।

प्यारा दुर्घटनापछि नेपाल एयरस्पोर्टस् एशोसियसन –ना)ले यस विषयमा गम्भीर भएर लागिरहेकाबेला क्यानले एक्कासी पोखराका ८ प्यारापाइलटलाई उडानमा अनिश्चितकालीन रोक लगाएको हो । रोक लगाइएका पाइलटमा युकेशसहित एलिस थापा, अञ्जन कुँवर, विशाल थापा, रिखि पोडे, संग्राम थापा, सुवास थापा र सहिल खान छन् ।

सुरुमा क्यानले ना सँग उडानका दौरान अवाञ्छित कार्य गर्ने प्यारापाइलटको नाम मागेको थियो । तर ना ले नाम पठाएन । यसपछि क्यानले आफ्नै हिसाबले ८ खेलाडीको नाममा पत्राचार गरेर उडानमा रोक लगाउँदै स्पष्टिकरण दिन ३ दिनको समय तोकेको छ ।

क्यानले दिएको समयसीमा अनुसार पोखराका पाइलटहरु भोली सिनामंगलस्थित क्यानको फ्लाइट सेफ्टी स्टाण्डर्ड विभागमा हाजिर हुने भएको छ ।

तपाइहरुले गलत गर्नु भएकै हो ? उत्तरमा एलिस भन्छन्, ‘हैन, हाम्रो विरुद्ध क्यानले के आधारमा पत्र काट्यो, बुझ्न सकेको छैन । एलिस अन्तर्राष्ट्रियस्तरका प्यारा ट्रेनर हुन् । उनीसँग प्याराग्लाइडिङ पाइलट र इन्स्ट्रक्टरको अन्तर्राष्ट्रिय लाइसेन्स छ । यस्तो लाइसेन्स हुने नेपालमा ४ जनामात्रै छन् । जुन लाइसेन्स उनले स्वीजरल्याण्डबाट प्राप्त गरेका हुन् ।

 

                                                  

 

अन्तर्राष्ट्रियस्तरमा ख्याती कमाएका एलिसले फ्रान्स, चीन, इटली, अष्ट्रेलिया र स्वीजरल्याण्डमा एक्रोब्याट र सुरक्षासम्बन्धि तालिम दिइरहेका हुन्छन् । पोखरामा पनि उनले एक्रोब्याट र सुरक्षासम्बन्धि वर्कसपको आयोजना निरन्तर गर्दै आएका छन् । ‘क्यानजस्तो संस्थाले कमेसकम खेलाडीको बायोडाटा, प्रोफाइल अध्ययन नै नगरी कारवाही गरेको छ, स्पष्टीकरण दिन बोलाएको छ, केही बुझ्नै सकिएन’ उनले गुनासो पोखे ।

१६ वर्षको उमेरदेखि तन, मन र धन दिएर चीनमा समेत लकडाउनकै बेला प्यारा इन्ष्टिट्युट खोलेका एलिसले धान खाने मुसो, चोट पाउने भ्यागुताको आहान सम्झिरहेको सुनाए ।

यस क्षेत्रमा युकेशको शानै बेग्लै छ । एशियन गेम्समा रजत पदक जितेर देश फर्कदा गर्वले फुलेको छातिमा अहिले प्रहार भएको उनको ठम्याई छ । ‘देशको लागि खेलेको मान्छे हुँ, अहिले बदनाम गर्न देशै लागेजस्तो महशुस गरेको छु’ उनी भन्छन् ‘हामीले केही गलत गरेका छैनौं, ५ सय रुपैयाँमा फुल टिपाउँदै हिड्ने पाइलट हामी होइनौं ।’ आफुहरुलाई झुठो आरोपमा फँसाउन खोजेको उनले अनुमान गरेका छन् । ‘खुट्टा तान्ने प्रवृत्ति हावी भएजस्तो लागेको छ’ उनले सटिक भनाई राखे ।

सिजनको समय दैनिक ६ हजार रुपैयाँसम्म कमाउने पाइलटलाई आकाशमा ५ सयका लागि बार्गेनिङ गर्ने जस्ता आधारहीन समाचारको पछि लागेर प्रोफेशनाल पाइलटहरुको हुर्मत लिन खोजिएको उनीहरुको बुझाइ छ ।

‘बेफ्वाँकमा बेइज्जत गर्न खोजियो’ उनीहरुको एकै स्वर छ । वास्तविकता नबुझी टिकटकको भिडियोलाई प्रमाण मानेको र पाइलटको इतिहास नबुझेकोप्रति उनीहरुको चित्त दुखाई छ । क्यानले पेशामा रोक लगाएपछि उनीहरुको समूल धारणा छ, ‘विदेशमा हामीसँग क्लास लिन महिनौ अघिदेखि पालो पर्खिन्छन्, यता हामी क्लास लिन क्यानमा जाँदैछौं ।’

युकेश गुरूङ

विश्वव्यापीरुपमा प्याराग्लाइडिङ गर्दा एक्रोब्याटिक र अन्य गतिविधि सामान्य हुन् । नेपालमा उडानका दौरान के गर्ने र के नगर्ने भन्ने मापदण्ड नहुँदा पोखरेली पाइलटमाथि अन्याय भएको उनीहरुको ठम्याई छ । उडानका दौरान तालको पानी छुने, फुल टिप्नेजस्ता गतिविधि दक्ष पाइलटकाबीच मात्र हुने उनीहरुको भनाई छ । जसलाई उनीहरुले ‘फन फ्लाइट’ नाम दिएका छन् ।

एलिश थापा

यस्तो किसिमको समाचार देश बाहिर पुगे नेपालकै बेइज्जत हुने उनीहरुको धारणा छ । क्यानले प्याराग्लाइडिङ कम्पनीबाट लिएको कर हालसम्म सम्बन्धित क्षेत्रमा खर्च नगरी गैरजिम्मेवार भएकाबेला उल्टो कार्वाहीका लागि पत्राचार गर्न अघि सरेकोमा उनीहरुले आश्चर्यमा परेको जनाए ।

प्याराग्लाइडिङको अन्तर्राष्ट्रिय मापदण्ड पालना गर्ने हो भने नेपालका ७० प्रतिशत प्यारापाइलटको लाइसेन्स फेल हुने समेत उनीहरुले बताए । क्यानले प्याराग्लाइडिङको विधाबारे अध्ययन नगर्दा त्यसको असर आफुहरुमा परेको उनीहरु बताउँछन् ।

‘भोली काठमाण्डौं जाँदैछौं, गएर हाजिर हुन्छौं’ उनीहरु भन्छन् ‘हामीले बोलेको के सुन्लान् र ! जे भन्छन् त्यही मान्ने त होला ।’

कमेन्टहरु
Loading...