पोखरा १७ बिरौटामा बन्ने भयो जिल्ला स्तरिय खेलकुद रंगशाला

राजु गिरी, पोखरा । 
पोखरा महानगरपालिका वडा नं. १७ बिरौटाको पावर हाउस क्षेत्रमा जिल्ला स्तरिय खेलकुद रंगशाला बन्ने भएको छ । काउछेघारीबाट पावरहाउस फुस्रेखोला जिल्ला स्तरिय रंगशालासम्म जाने बाटो निर्माणको शुभारम्भ गर्दै बुधबार वडा कार्यालय १७ ले घोषणा गरेको हो ।

बाटो निर्माण कार्यलाई शुभारम्भ गर्दै पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिसीले एक वडा एक खेलमैदान बनाउनुपर्ने बताए । दिन प्रतिदिन मानव स्वास्थ्य बिग्रदै गएकाले स्वास्थ्य जिवनका लागि खेलकुद अत्यावश्यक भएको बताए । उनले भने –‘हामीले एक वडा एक खेलमैदान बनाउने विषयमा जोड गरिरहेका छौं । यसले खेलकुदको विकास मात्र होईन हाम्रो स्वास्थ्यलाई पनि निकै फाईदा पुग्छ ।’ खेलमैदान बनाउने विषयमा महानगर सधै साथ दिन तयार रहेको उनको भनाई छ ।

त्यस्तै खेलमैदान निर्माण उपभोक्ता समितिका संयोजक दिपक गोदारले आफुलाई दिईएको जिम्मेवारी इमान्दारीका साथ पुरा गर्ने प्रतिवद्धता व्यक्त गरे । ‘हामी खेलाडी हौं, कि गर्छौ कि नकआउट हुन्छौं ।’ –उनले भने । पोखरालाई खेलकुदबाट चिनाउनका लागि यो निर्माण हुने रंगशालाको पनि ठुलो महत्व रहने उनको भनाई छ । रंगशाला बनाउन सबैको साथ आवश्यक भएकाले हातमा हात र साथमा साथ दिन आग्रह गोदारले गरे ।

यता वडा १७ का वडाध्यक्ष तिर्थराज अधिकारीले रंगशाला निर्माणको योजना वडाकै पहिलो गौरबको योजना हुने दावी गरे । ९ करोड लागतमा सम्पन्न गर्ने योजना भएपनि अझै अध्ययन गर्दै जाँदा लागत बढ्न सक्ने समेत उनले बताए । पहिलो चरणमा मैदानसम्म बाटोको निर्माण गर्ने र खेलकुद विज्ञका आधारमा उपयुक्त खेलका भौतिक पूर्वाधार निर्माण गरिने अधिकारीले जानकारी दिए ।

त्यस्तै बढ्दो शहरीकरणका कारण खेलकुदका भौतिक पूर्वाधार निर्माण प्रत्येक वडा वडा हुनु आवश्यक रहेको कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले जोड दिए ।

वडा सदस्य राधिका शाहीका अनुसार १ वर्ष अगाडीदेखि नै अध्ययन गरि डिपिआर तयार गरिएको छ । अहिले बाटो बनाउने कार्यलाई वडाबाटै खर्च गरिने र अन्य आवश्यक खर्चका विषयमा स्थानीय, प्रदेश र संघिय सरकारसँग छलफल भैरहेको शाही जानकारी दिईन् । मैदान जाने बाटो सहित खेल मैदानको क्षेत्रफल १ सय ५५ रोपनी जग्गा रहेको उनले बताईन् ।
खेलमैदानमा कुन कुन खेलका पूर्वाधार निर्माण हुने विषयमा अध्ययन तथा छलफल भैरहेको वडाले बताएको छ ।

कमेन्टहरु
Loading...