पोखरा । कोरोना संक्रमण रोकथामका लागि आह्वान गरिएको बन्दाबन्दीपछि पोखरामा पहिलो पटक खेलकुद प्रतियोगिता सुरु भएको छ । कास्की जिल्ला क्रिकेट संघले आसन्न प्रधानमन्त्री कपका लागि खेलाडी छनोट गर्न मंगलबारदेखि पोखरा रंगशालाको क्रिकेट मैदानमा आयोजना गरेको क्लबस्तरीय छनोट प्रतियोगिता सुरु भएपछि खेलकुद गतिविधि पुनः रंगशालामा फर्किएको हो ।
पोखरामा पछिल्लो पटक फागुनअन्तिम साता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित आहा रारा गोल्डकप फुटबल प्रतियोगिता भएको थियो । कोरोना भाइरसको कहरका कारण गत वर्ष फागुन अन्तिम सातादेखि खेलकुद नगरी पोखरामा सबै खेल गतिविधि ठप्प भएका थिए ।
वर्षभरिनै नियमित खेलकुदका प्रतियोगिता सञ्चालन हुने पोेखरा रंगशालामा संक्रमण रोक्न आह्वान गरिएको बन्दाबन्दीका कारण लामो समय कुनै पनि प्रतियोगिता तथा प्रशिक्षण नहुँदा खेलाडी प्रभावित बने । ९ महिनापछि रंगशालामा उपस्थित भएर प्रतियोगिता खेल्न पाउँदा खेलाडीहरु उत्साहित छन् । कोरोना महामारीको केही समयपछिनै विश्वका अन्य देशमा खेलकुद नियमित रहे पनि नेपालमा लामो समय बन्द हुँदा आफूहरुले लामो समय मैदानमा आउन नपाउँदा निराश बनेको क्रिकेट खेलाडी दीपेश खत्री बताउँछन् ।
उनले भने, ‘अन्तिम पटक मलेसियासँग खेलेपछि कुनै पनि प्रतियोगिता खेल्न पाएका थिएनौं । कोरोनाले गर्दा सरकारले बनाएको नियम मानेर घरमा बसौं, २० वर्ष क्रिकेटमा लागि जीवन दिएका हामी खेलाडी पुनः खेल्न पाउँदा उत्साहित भएका छौं ।’
क्रिकेट, फुटबललगायत खेलका खेलाडीको उमेर कम हुने भएकाले एक वर्ष क्षति हुँदा प्रदर्शनसमेत प्रभावित हुने खत्रीको भनाई छ । आगामी पुस ११ देखि हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोेगिताका लागि जिल्ला क्रिकेट संघले खेलाडी छनोेट गर्न पोखरा रंगशालामा पुरुषको क्लबस्तरीय प्रतियोगिता सञ्चालन गरेको हो । प्रतियोगितामा विभिन्न ६ टोलीले सहभागिता जनाएका छन् ।
क्रिकेट रेफ्री भोजराज बरालले लामो समयपछि क्रिकेट प्रतियोगिता हुँदा खुसी लागेको बताए । उनले विस्तारै क्रिकेट खेलको माहोल जिल्ला जिल्लामा बढ्ने विश्वास व्यक्त गर्दै प्रतियोगितालाई निरन्तरता दिनुपर्ने बताएका छन् । मंसिर २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा माछापुच्छ«े र पोखरा क्रिकेट क्लबसहित अरण्यज्योति, सांग्रिला, कास्की र राइजिङ पोखरा क्रिकेट क्लबसहित ६ वटा टोलीले सहभागिता जनाएको कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिएका छन् ।
क्लबस्तरीय प्रतियोगिताबाट जिल्लाको टोली छनोट गरी प्रदेश छनोट प्रतियोगितामा पठाइने क्रिकेट संघले जनाएको छ । महिलाको भने क्लब नभएकाले छनोट ‘क्याम्प’ मार्फत् खेलाडी छनोट गरिने छ । आगामी पुुस १ देखि पोखरा रंगशालामा प्रदेशस्तरीय पुरुष तथा महिलाको छनोट प्रतियोगिताबाट महिला पुरुषको १/१ टोली प्रधानमन्त्री कपका लागि छनोेट गरिने संघका सचिव दीपेन्द्र चन्दले जानकारी दिएका छन् । रासस