ठूलो वा सानो भ्रष्टाचार अक्षम्य अपराध : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो वा सानो मात्रामा जोसुकैबाट हुने भ्रष्टाचार भए पनि त्यो अक्षम्य अपराध हुने बताएका छन् ।

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा सन्देश दिँदै प्रधानमन्त्री ओलीले कुनै एक सूचकका आधारमा मात्रै भ्रष्टाचार घटेको वा बढेको निष्कर्षमा पुग्न नकिने उल्लेख गर्दै पछिल्ला २ वर्षमा मुलुकमा सुशासन कायम भई भ्रष्टाचार गर्ने प्रवृत्ति धेरै हमदसम्म ओरालो लागेको जनाएका हुन् । प्रधानमन्त्री ओलीले कोभिड–१९ को महामारीलाई परास्त र यसको असर न्यूनीकरण गर्दै सामान्य लयमा फर्किन स्वच्छ, सुशासनयुक्त, आचरण व्यवहार र काम गर्नैपर्ने भएकाले यस तथ्यलाई संयुक्त राष्ट्रसंघले समेत अनुभूत गरेको बताए । ‘वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनलाई स्थापनाकै दिनदेखि महत्व दिँदै आएको छ र यसप्रतिको सरकारको प्रतिबद्धता अविचलित छ । देशको आर्थिक–सामाजिक रुपान्तरणमा उल्लेखनीय प्रगति भएको छ ।’

सन्देशमा भनिएको छ, ‘ठूला विकास आयोजनाहरुको काम अघि बढेको छ । मुलुकको मुहार फेर्ने ‘गेम चेन्जर प्रोजेक्ट’ हरुको काम अघि बढेकै छ । सामाजिक सेवा क्षेत्रमा देखिएका विकृति, असंगति र समस्याको निराकरण गर्दै सार्वजनिक सेवालाई पारदर्शी, जवाफदेही र नागरिकमैत्री बनाउँदै लगिएको छ । नवीनतम् सूचना प्रविधि उपयोग गर्दै आम नागरिकलाई सेवा दिने अग्रभागका निकायमा अनलाइन सेवा सुरु गरिएको छ । प्रायः सबैजसो स्थानीय तहमा बैंकिङ सेवा पुगेको छ ।’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विगत २ आर्थिक वर्षमा ७ सय ९२ भ्रष्टाचारका मुद्दा चलाएको र हाल पनि करिब ८ हजार उजुरीमाथि अनुसन्धान भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याउनैपर्ने अडान दोहो¥याएका छन् ।

‘भष्टाचार हुनै नदिनु हाम्रो प्राथमिकता हो । यसका लागि सरकारी, निजी, गैरसरकारी, सामुदायिक तथा सञ्चार क्षेत्रलगायत सबैको सहयोग र सहकार्य आवश्यक छ । हाम्रा सामाजिक मूल्य, मान्यता, संस्कार र व्यवहारमा परिवर्तन गर्नु त्यत्तिकै आवश्यक छ । सामाजिक सुशासनले व्यावसायिक एवं राजनीतिक सुशासनका लागि दबाब सिर्जना गर्छ ।’ सन्देशमा भनिएको छ, ‘सार्वजनिक संस्थाहरुको सुढृढीकरण, जवाफदेही र पारदर्शी कार्यप्रणाली, सार्वजनिक खरिद प्रणालीमा शुद्धताजस्ता कुरा भ्रष्टाचार नियन्त्रणका निरोधात्मक उपायहरु हुन् ।’ रासस

कमेन्टहरु
Loading...