नर्स शान्तिको संस्मरणः आँखै अघि बिते पहिलो कोरोना संक्रमित (भिडियोसहित)

पोखरा । देशैभर स्वास्थ्यकर्मीहरु दिनरात नभनि कोरोना भाइरसको महामारी विरुद्ध लडिरहेका छन् । डर र त्रास उनीहरुलाई पनि नभएको होइन । स्वास्थ्यकर्मी भइसकेपछि ‘डर’लाई परै छाडेर खटिनु पर्ने बाध्यता छ ।

घर, परिवार र आफन्त सम्झँदा मन अशान्त हुन्छ । यस्तै अशान्तिबीच निरन्तर अस्पतालमै डटिरहेकी छिन् ‘शान्ति ।’ उनी हुन् नर्स शान्ति खड्का र उनको मुकाम हो, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरा । अस्पताल प्रशासनले कोरोना संक्रमितको उपचारका लागि टिम बनाउँदा उनलाई पनि राखियो । पहिलेदेखि नै आइसीयूको वार्डमा कार्यरत थिइन् । कोरोना संक्रमितबारे नेपालमा धेरै भ्रम थियो । सायद सबैलाई त्यही भ्रम भएर होला, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु अगाडि सरेर ‘म यो टिममा बस्छु’ भन्न सकिरहेका थिएनन् । उनी भने डर, त्रास र भयकाबीच पनि तयार भइन् । उनी आफैंले ‘म यो टिममा सामेल हुन तयार छु’ भनिन् ।

जब अस्पतालमा सञ्चालित कोभिड १९ उपचार केन्द्रमा पोखरामै पहिलो पटक कोरोना संक्रमित ल्याइयो, त्यो बेला उनलाई बेस्सरी डर लागेको थियो । ती बिरामी स्याङ्जाकी महिला थिइन् । उनलाई याद भएसम्म स्याङ्जामा सबै संक्रमित पुरुष रहेको तथा महिलालाई राख्ने व्यवस्था नभएपछि पोखरा ल्याइएको थियो । कोरोना बिरामीलाई पहिलो पटक उपचारका लागि ल्याइएपछि थोरै डर तथा धेरै जिम्मेवारीको भावले उनीसहितका टिमले बिरामी महिलालाई उपचार गरे । त्यसपछि उनीहरु पोखरामा नै कोरोना बिरामीको पहिलोपटक उपचार गर्न पाउने स्वास्थ्यकर्मी बने ।

डर उनलाई पनि नलागेको होइन । तर आफ्नै इच्छा तथा चाहनाले नर्स पेसा अंगालेकाले जिम्मेवारी बोध भएपछि कोरोना संक्रमितको उपचारका लागि अगाडि सरिन् । ती संक्रमित महिलामा निकै डर थियो । उनी पूरै हतोत्साहित भएकी थिइन् । ‘संक्रमित महिला सधैं मेरो परिवार उता छन्, म मात्र यहाँ छु, म अब घर जान पाउँदिन होला भन्दै चिन्ता मान्नुहुन्थ्यो । रातभरि सुत्नुहुन्थ्यो, तर हामीले उहाँलाई हिम्मत दिने काम ग¥यौं ।’ उनले भनिन्, ‘लगातार केही हुँदैन, तपाई निको भएर घर जानुहुन्छ भनेपछि उहाँ बल्ल ढुक्क हुन थाल्नुभएको थियो ।’

पहिलो, दास्रो हुँदै कोरोनाका बिरामी आउन थालेपछि केही हुँदैन भन्ने लाग्न थाल्यो । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पहिलो पटक कोरोना संक्रमितले ज्यान गुमाउँदा पनि उनी उपचारमा थिइन् । ती बिरामीले उनकै सामुन्ने यो धर्ती छाडे । त्यो समयमा उनीसँगै अन्य स्वास्थ्यकर्मी थिए । कोरोनाको बिरामीलाई कसरी उपचार गर्ने भन्ने विषयमा अस्पतालले उनीहरुलाई तालिम दिएको भएपनि संक्रमितको निधन भएमा के गर्ने भन्ने विषयमा तालिम दिएको थिएन । यहाँसम्म कि कोरोना संक्रमितको शव ‘प्याक’ गर्ने प्लास्टिकको ब्याग उलपब्ध गराइएको थिएन । उनीहरु आत्तिए । अस्पताल प्रशासनलाई फोन गर्दा नजिक जस्तो प्लास्टिक छ, त्यसमा शवलाई ‘प्याक’ गर्नु भन्ने आदेश आयो, त्यसपछि सामान्य प्लास्टिकमा शवलाई प्याक गरे स्वास्थ्यकर्मीलको टोलीले ।

त्यसपछि मनमा भएका केही डरहरु हरायो । विस्तारै कोरोना संक्रमितहरुको उपचार गर्ने क्रम पनि बढिरह्यो । यो समयमा उनलाई परिवारले भरपूर रुपमा साथ दिए । कहिलेकाहीं जागिर नै छोड्नुपर्छ कि भन्ने सोंच उनलाई पनि नआएको होइन । तर मैले बिरामीहरुको सेवाका लागि नै स्वास्थ्यकर्मीको पेसा रोजेको हुँ भन्ने सोच आउँथ्यो उनलाई । परिवारबाट यो समयमा केही समस्या थियो । छिमेकीले भने कहिलेकाही उनलाई जिस्काउँथे, उनीबाट टाढा हुन खोज्थे । तर उनी हामी पूरै सुरक्षित तरिकाले उपचारमा खटिएका छौं, तपाईंहरु डराउनु पर्दैन भन्दै सम्झाउन खोज्थिन् । उनी भन्छन्, ‘केहीले बुझे, केहीले बुझेनन् पनि ।’

काम गर्दै गइन् शान्तिले इमान्दारिताका साथ । उनलाई लाग्थ्यो, यसरी संक्रमितको उपचार गर्दागर्दै कुनै दिन आफैंलाई शतप्रतिशत संक्रमण हुन्छ भन्ने । फेरि पनि बचिन्छ कि भन्ने आशा थियो । परिवारलाई पनि यसरी नै सम्झाइसकेकी थिइन् । एकदिन १ जना बालकलाई खुट्टामा समस्या आएपछि अस्पताल ल्याएका थिए परिवारले । बालकलाई ज्वरो आइरहेको थियो । उपचारमा संलग्न उनीसहित अन्य स्वास्थ्यकर्मीले सोंचे, ‘सायद खुट्टाको चोटले गर्दा बालकलाई ज्वरो आएको होला ।’ अस्पतालमा सामान्य रोगको उपचारका लागि आउँदा स्वास्थ्यकर्मीले पिपिई प्रयोग गर्दैनन् । उनले त्यो दिन पिपिई लगाएकी थिइनन् । बिरामी बालकलाई उनले नै उपचार गरेकी थिइन् । पछि अस्पतालले बालकको पिसिआर परीक्षण गर्दा उनलाई कोरोना संक्रमण पुष्टि भएछ । त्यो सुनेर शान्तिको मन अशान्त भयो । ‘त्यो दिन मलाई रातिभरि निन्द्रा लागेन, झन् छोरालाई बचाउन अर्को कोठामा गएर सुत्न खोज्दा पनि मसँगै आएर सुत्यो ।’ सन्तानको माया न हो, तर उनले आफ्नो छोरालाई कुनातर्फ फर्काएर आफू छेउतर्फ फर्किएर सुत्थिन् । कन्ट्याक्ट ट्रेसिङमा परेपछि उनको पनि पिसिआर परीक्षण गरियो ।

पिसिआर परीक्षणको रिर्पोट उनले राति १० बजे फोनमार्फत् थाहा पाइन् । ‘रिर्पोट पोजेटिभ आयो भन्ने सुन्दा त म झस्यांग भएँ, छोराको रिर्पोट धन्न नेगेटिभ आयो ।’ त्यसपछि उनलाई आफू कार्यरत हस्पिटलबाट नै फोन आयो, अनि उनी राति नै हस्पिटल गइन् । दसैं गइसकेको थियो, तिहार उनले यो वर्ष मनाउन पाइनन् । उनी आइसोलेसनमा बस्नुप¥यो । चाडपर्व भन्नु नै परिवारसँग रमाउनु हो । सँगै बसेर मिठोमसिनो खानु हो, शान्तिलाई भने यो वर्ष सोचेको जस्तो भएन । आइसोलेसनमा बस्दा उनलाई हरेक पल छोरा तथा परिवारका सदस्यको याद आउँथ्यो । उनी हरेक रात परिवार सम्झिएर रुन्थिन् । ‘संक्रमितलाई केही हुँदैन भनेर धेरै सम्झाइयो । आफूलाई परेपछि भने आफ्नै मनलाई सम्झाउन सकिन् ।’ उनी भन्छिन्, ‘कोरोना केही होइन भन्ने सोच्न नहुने रहेछ ।’

उनलाई संक्रमण पुष्टि हुँदा खासै केही लक्षण देखिएन । तर केही दिन सामान्य टाउको दुख्ने तथा शरीर दुख्ने भयो । एकातर्फ परिवारको सम्झना, अर्कोतर्फ उनलाई आज निदाए, भोलि उठिन्न कि भन्ने लाग्थ्यो । त्यसैले रातभरी नसुतेर बस्न खोज्थिन् । ‘केही घण्टा भने निदाउने रहेछु । त्यसपछि उठेर म जिउँदै छु भनेर झसंग हुन्थें, अनि जुरुक्क उठेर आफैंलाई हेर्थें ।’ उनी भन्छिन् । उनको लागि ती पलहरु निकै पीडादायी थिए, जुन समय उनी संक्रमित भएर हस्पिटलको आइसोलेसनमा बसेकी थिइन् ।

अन्य दिनमा आइसोलेसनको अर्को कोठामा भएका संक्रमित डाक्टरसंग कुरा गर्दै दिन बिताउँथिन् शान्ति । ‘संक्रमित डाक्टरलाई नै मलाई केही भएमा सहयोग गर्नुस् है भन्दै बस्थें । उहाँ मलाई सम्झाउने कोसिस गर्नुहुन्थ्यो ।’ उनले भनिन्, ‘आफैं संक्रमित भइसकेपछिको मानसिक अवस्था र अन्य संक्रमितहरुलाई सम्झाउने मानसिकतामा धेरै फरक हुने रहेछ, हेलचक्र्याई कत्ति पनि नगर्नुस् ।’ यता आफू संक्रमित भएर हस्पिटल बस्नुपरेको अवस्थामा परिवारलाई भने केही समस्या भएछ । उनको घर वरपर बालबालिकालाई हिंड्न दिइएन । उनले भनिन्, ‘त्यति धेरै सामाजिक बहिस्कार नभएपनि केही रुपमा भने छिमेकीले परिवारलाई तनाव नै दिनुभएछ ।’

उनको यो वर्षको तिहार अस्पतालको आइसोलेसनमा बित्यो । त्यो समयमा परिवारको खुब याद आयो उनलाई । कारण चाडपर्वको समयमा एकातर्फ एक्लै बस्नुपर्ने बाध्यता, अर्को दाजुभाइलाई तिहारमा टीका लगाउन नपाउनु । तिहारको दिनमा उनलाई आइसोलेसनमा भेट्न दाई सहित परिवारका सदस्य त्यही आइपुगे । जब परिवार तथा दाइलाई देखिन आफूले आफैंलाई थाम्न सकिनन् । त्यो दिनमा पछि खुब राइन् । बाध्यता थियो, परिवारलाई छुन त टाढाको कुरा, नजिक जान पनि नमिल्ने, शान्तिका लागि योभन्दा पीडादायी क्षण अरु कहिले पनि थिएन ।

कहिले रिर्पोट नेगेटिभ आउँछ र घर जान पाउँछु भन्ने उनलाई सधैं लागिरहन्थ्यो । अरुलाई भन्न जति सजिलो छ, आफैंलाई परेपछि सम्हाल्न धेरै गाह्रो हुने उनको बझाई छ । करिब १९ दिनको आइसोलेसन बसाई पश्चात उनको स्वाब परीक्षण गर्दा रिर्पोट नेगेटिभ आयो । त्यसपछि उनी घर जान पाइन् । ‘म १९ दिन आइसोलेसनमा बसें । त्यो समयको पीडा म शब्दमा व्यक्त गर्न सक्दिन, हामी जस्तो स्वास्थ्यकर्मीले त कोरोनाका विषयमा धेरै कुरा जान्दा जान्दै केही अवस्थामा हतोत्साहित हुँदा रहेछौं ।’ उनले भनिन्, ‘अन्य संक्रमितलाई कस्तो हुने रहेछ भन्ने अहिले बल्ल म बुझ्दै छु ।’
कोरोना भाइरस संक्रमणबाट बच्न सामाजिक तथा भौतिक दुरी कायम गर्नु आवश्यक हुन्छ । ‘यहाँ नेपालमा खासै सामाजिक तथा भौतिक दुरी कायम गरेको पाइँदैन, हेलचक्र्याईं भइरहेको छ ।’ शान्ति सुझाव दिन्छन्, ‘भौतिक दुरी कायम गर्नुस्, मास्क तथा स्यानिटाइजरको प्रयोग गर्नुस्, या फेरी साबुनपानीले पटक–पटक हात धुनुस् ।’ उनको बुझाईमा कोरोना आफूलाई संक्रमण नभएसम्म केही होइन, संक्रमण पश्चात् भयानक पनि बन्न सक्छ ।

उनी अहिले कोरोना संक्रमणमुक्त भएर संक्रमितको उपचार थालिसकेकी छिन् । कोरोनाले शरीरलाई केही हदसम्म शिथिल बनाए पनि आफ्नो कर्ममा दत्तचित्त भएर लागेकी छिन् । उनको अनुरोध छ, ‘स्वास्थ्कर्मीलाई हेयको दृष्टिले नहेर्नुस्, उनीहरु नजिक आउँदैमा कोरोना सरिहाल्ने होइन ।’ हालको अवस्था हेर्ने हो भने, स्वास्थ्यकर्मीलाई हेर्ने दृष्टिकोणमा केही परिर्वतन आएको छ । पहिले जस्तो हुँदैन, तर कहीं भने अपहेलित हुनुनपर्ने अवस्था आउँछ ।

शान्तिको चाहना भनेको अबका दिनमा पनि नियमित संक्रमितहरुको आत्मबल बढाएर उपचारमा संलग्न हुन पाऊँ भन्ने नै हो । उनका अनुसार कोरोना संक्रमण भइहालेको खण्डमा आत्मबल बलियो बनाउनु जरुरी हुन्छ । ‘भ्याक्सिन नआउँदासम्म कोरोनासंगै बाच्न सिक्नुपर्छ, दीर्घ रोगी, बालबच्चालाई सकेसम्म जोगाउनुस् ।’ उनी भन्छिन् । संक्रमितहरुलाई हेयको दृष्टिले नहेर्न उनको आग्रह छ ।

कमेन्टहरु
Loading...