पोखरा, २९ मङ्सिर /¥याण्डम रिडर्स सोसाइटी अफ् नेपालले आफ्नो ३६औं परिचर्चा शृङ्खलामा सिनेमा सिद्धान्तबारे शनिबार पोखरामा बहस गरेको छ । सोसाइटीका अध्यक्ष गनेस पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सिनेमा सिद्धान्त माथि परिचर्चा गर्दै चलचित्रका अध्येता तथा सञ्चारकर्मी अमित रिजालले चलचित्रको भाषा, कला, शैली, प्रविधि, इतिहास, समालोचना सिद्धान्तबारे प्रकाश पार्नुभएको थियो । विश्वका विभिन्न भाषाका चलचित्रका विभिन्न दृश्यहरुसहित कार्यपत्र प्रस्तुत गर्दै रिजालले नेपाली सनेमामा सीमान्तकृत वर्गको पहिचानसहितको सिनेमाले बजार लिएको बताउनुभयो ।
कार्यक्रममा चलचित्र निर्देशक मनोज पण्डितले नेपालको चलचित्र राज्यलाई चुनौती दिन सक्ने ठाउँमा रहेको तर्क गर्दै पोखरा चलचित्र विकासका लागि एक केन्द्र बन्न सक्ने बताउनुभयो । नेपाली दर्शकले सैद्धान्तिक दृष्टिले अझै सचेत नभएको भन्दै उहाँले सिद्धान्तभन्दा बढी चलचित्रका लागि संस्कृति महत्वपूर्ण रहेको बताउनुभयो । यस्तै पत्रमाथि टिप्पणी गद पोखरा फिल्म सोसाइटीका अध्यक्ष घनश्याम लामिछानेले कार्यपत्र चलचित्रका विषयमा जान्न चाहनेहरुका लागि एक महत्वपूर्ण दस्तावेज भएको बताउनुभयो । इरानी चलचित्रबाट नेपाली चलचित्रबाट धेरै सिक्नुपर्ने बताउँदै लामिछानेले चलचित्रका विषयमा अझ अन्तरक्रिया हुनुपर्नेमा जोड दिनुभयो ।
स्रष्टा परिचयअन्तरगत समिभञ्ज्याङ, लमजुङका कवि रामकृष्ण ‘तारा’को परिचय दिँदै सम्मोहन साहित्यिक पत्रिकाका सम्पादक अल्पज्ञानीले कवि तारा अपाङ्ग शरीर भएका सबलाङ्ग लेखकका रुपमा चिनाउनुभयो । घरमै दुर्घटनामा परी अपाङ्ग बनेर पनि मनको घाउ, भविष्यका पाइलाहरु र सिर्जनाका कोसेलीहरु कृति प्रकाशन गर्नुभएका तारालाई अल्पज्ञानीले राष्ट्रियताप्रति संवेदनशील कविका रुपमा चित्रण गर्नुभयो ।
उपाध्यक्ष मेहन्द्र रिमालले स्वागत गर्नुभएको कार्यक्रममा सोसाइटीका पुस्तक छनोट समितिका संयोजक प्रा. डा. विष्णुप्रसाद पौडेलले तीर्थ श्रेष्ठको कवित्वबारे सोसाइटीका सदस्य अनुपमणि अधिकारीले आगामी पुस २७ गते परिचर्चा गर्ने जानकारी दिनुभयो ।
कार्यपत्र प्रस्तोता अमित रिजालको परिचय पत्रकार÷गजलकार आरजु विष्ट ‘सल्यानी’ले दिनुभएको कार्यक्रममा डा. विष्णु पौडेल, डिल्लीराज आचार्य, महेश खाती, महेश भाजू, सुरेश रानाभाट, महेन्द्र रिमाल, मन क्षेत्री, अर्जुन पोखरेल, विश्वराज पराजुली, माधव पहारीलगायतले टिप्पणी गर्नुभएको थियो भने सञ्चालन सचिव उपेन्द्र पौडेलले गर्नुभएको थियो । सोसाइटीले हरेक महिनाको अन्तिम शनिबार कुनै पुस्तक वा विषयवस्तुमाथि परिचर्चा र स्रष्टा परिचय गर्दै आएको प्रचारप्रसार संयोजक रुपिन्द्र प्रभावीले जनाउनुभयो ।