काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी ओलीले भेटघाट गरेका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी भित्र नेताहरुबीच किचलो बढेको बेला राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली राष्ट्रपति कार्यालय, शितलनिवास पुगेका हुन् ।
पार्टी भित्र संकट बढ्न साथ प्रधानमन्त्री ओली परामर्शका लागि राष्ट्रपति कार्यालय प्रवेश गर्छन् । यस अर्थमा यस पटक पनि कुनै राजनीतिक भलाकुसारीकै लागि उनी शितलनिवास पुगेको हुनसक्ने नेकपाका अध्यक्ष पुष्पकमल दाहालनिकट स्रोतले बतायो । यता बालुवाटार स्रोतले भेट नियमित भएको जनाएको छ ।
प्रधानमन्त्री ओली पछिल्ला दिनमा पनिमा पनि राजनीतिक संकटमा छन् । अर्का अध्यक्ष दाहालले उनीमाथि गम्भीर आरोप लगाउँदै सचिवालय बैठकमा प्रतिवेदन पेश गरेपछि उनीमाथि संकट चुलिएको हो ।
दाहालको प्रतिवेदनको जवाफ फर्काएका ओलीले दुबै प्रतिवेदन पार्टीमा थप छलफल नहोस् भन्ने चाहना राखे पनि अरु नेता विपक्षमा भएकाले त्यो प्रयास विफल भएको छ ।
दुबै अध्यक्षका प्रतिवेदनमाथि छलफल गर्न बुधबार बोलाइएको सचिवालय बैठकमा उनी उपस्थित नै भएन्न् । अर्को बैठक २० गतेका लागि बोलाइएको छ ।