पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँमा पुल उद्घाटन गरेका छन् । पौडेलले बुधबार उद्घाटन गर्न नपाएको तनहुँ ब्यास नगरपालिकाको बुल्दीखोलाको पुल बिहीबार उद्घाटन गरेका हुन् । पौडेल बिहीबार कांग्रेसका सयौं कार्यकर्तासहित पुल उद्घाटन गर्न पुगेका थिए ।
पुल उद्घाटन स्थलमा ठूलो संख्यामा कांग्रेस कार्यकर्ता उपस्थित छन् । उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओली र तनहुँ प्रशासनविरूद्ध नाराबाजी गरेका थिए। उक्त कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यहरू प्रदीप पौडेल, शंकर भण्डारी, गोविन्द भट्टराईलगायत नेताहरू पनि सहभागी छन्।
बुधबार जिल्ला प्रशासन कार्यालयले पुल क्षेत्रमा निषेधाज्ञा जारी गरी पौडेललाई पुल उद्घाटन गर्न नजान आग्रह गरेको थियो । तर पौडेल पुल उद्घाटन गर्न जाँदा नियन्त्रणमा लिई ३ घण्टापछि छाडेको थियो । तर बिहीबार भने उक्त पुल उद्घाटनमा प्रशासनले अवरोध गरेन ।