महेन्द्रपुलको ट्राफिक पोस्टमा नेविसंघको कब्जा ! आज तरुणको शक्ति प्रदर्शन

दिपक के श्रेष्ठ

तनहुँमा बुधबार नेपाली कांग्रेका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि प्रहरीले बल प्रयोग गरी पक्राउ गरेपछि त्यसको विरोधमा नेपाल विद्यार्थी संघले साँझ पोखरामा विरोध प्रदर्शन ग¥यो ।

पुल उद्घाटनकाक्रममा निषेधाज्ञा तोडेको आरोपमा पौडेल पक्राउ परेपछि त्यसैको विरोधमा संघले विरोधस्वरुप प्रदर्शन गरेको थियो । सोही क्रममा विद्यार्थीहरुले प्रदर्शनस्थल पोखराको व्यस्त बजार महेन्द्रपुललाई रोजे । र, भाषण गर्ने थलो बन्यो ट्राफिक प्रहरीको पोस्ट ।

नेविसंघले पोस्ट कब्जा गरी भाषण गर्न थालेपछि ट्राफिक प्रहरीहरु भने सडक छेउबाट सवारीसाधनलाई आवतजावतको मेसो मिलाउन व्यस्त बने । साँझको समय महेन्द्रपुल क्षेत्र अत्यन्त व्यस्त हुन्छ ।

‘प्रदर्शन गर्न पाइन्छ तर व्यस्त चोक र ट्राफिकको पोस्ट नै किन ?’ संघका पूर्व केन्द्रीय सदस्य भानु ढकालसँग जिज्ञासा राख्दा उनले भने ‘पोखराको महेन्द्रपुल क्षेत्र नेपाली विद्यार्थी आन्दोलनको प्रतिकात्मक स्थान हो, महेन्द्रपुल हरेक आन्दोलनको साँक्षी छ, त्यसैले त्यही क्षेत्रमा हामीले कार्यक्रम गरेको हो ।’

ट्राफिक पोस्टबाट भाषण गरेको विषयमा ढकालले स्वयं अनुरोध गरेर एकछिन प्रयोग गरेको जनाए । उनका अनुसार तनहुँ घटनाको विरोधस्वरुप आज दिउँसो साढे १२ बजे तरुण दलको आयोजनामा विरोधका अन्य कार्यक्रम हुँदैछन् ।

पार्टी कार्यालयमा भेला भई त्यहाँबाट जुलुससहित महेन्द्रपुल आएर कार्यक्रम गर्ने योजना रहेको छ । यसैगरी, नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले तनहुँमा भएको घटनालाई ‘राज्य आतंक’को संज्ञा दिँदै सरकारको घोर भत्र्सना गरेका छन् ।

कमेन्टहरु
Loading...