बैंकको किस्ता र ब्याज प्रमुख समस्याः अध्यक्ष भट्टराई

 

समग्र पोखराको पर्यटन गतिविधिसँग सरोकार राख्ने अग्रणी संस्थाकारुपमा रहेको पोखरा पर्यटन परिषदको नेतृत्वमा गोपीबहादुर भट्टराई चयन भएका छन् । लेकसाइडस्थितप्याराडिसो स्पोर्टस् बारका सञ्चालकसमेत रहेका भट्टराइको काँधमा यतिबेला पोखरेली पर्यटनलाई नै उकास्नु पर्ने दायित्व थपिएको छ । कोरोना कहरबीच उनका योजना र नेतृत्वका विषयमा गन्थनद्वारा सोधिएको ५ प्रश्नः

पोखरा पर्यटन परिषदको अध्यक्षमा निर्वाचित हुनुभयो । पर्यटन विकासमा के योजना बनाउनुभएको छ ?
अप्ठेरो स्थितिमा निर्वाचित भएको छु । चुनौती धेरै छ । कोभिडले सबैभन्दा बढी प्रभाव परेको पर्यटन क्षेत्रको नेतृत्वमा रहिरहँदा आम पोखरेली र पर्यटन क्षेत्रसँग सम्बन्धित सबैको सहयोगको अपेक्षा गरेको छु । समग्रमा पोखराको पर्यटनलाई उकास्ने गतिविधिमै परिषद केन्द्रित हुनेछ ।

पोखराको पर्यटन पूर्ववतः अवस्थामा फर्केला ?
हेर्नुस, पर्यटनलाई पहिलेकै अवस्थामा नफर्काउने हो भने पोखराको पहिचान नै सङ्कटमा पर्छ । नेपालको पर्यटनको प्रमुख गन्तब्य नै पोखरा हो । यहाँका हरेक गतिविधि पर्यटनसँग जोडिएका छन् । कोरोना कहर पनि बिस्तारै सहज अवस्थामा आउला भन्ने अपेक्षा राखौं र धैर्य पनि गरौ ।

अलिकति सहज हुनासाथ पोखराको मुख्य केन्द्र लेकसाईड कम खुलेपनि आसपासका पामे, लेखनाथको माझीकुना, गाउँतिर पदयात्रा गर्नेको हुल नै छ । तसर्थ पोखराको पर्यटन स्थिर भएर रहन्छ भन्ने लाग्दैन ।

पर्यटन भन्नासाथ पोखरा र लेकसाईडमात्रै भन्ने आरोप लाग्दै आएको छ नि ?
पोखराभनेको लेकसाईड मात्रै होईन भन्नेमा हामी दृढ छौ । हिजोका दिनमा कोही कसैलाई लागेको हुन सक्छ तर पोखरा पर्यटन परिषदमार्फत त्यो आशंका मेटाउन समन्वयकारी भूमिका खेल्छौ ।

पर्यटन क्षेत्र फराकिलो हुनुपर्छ । पर्यटनसँग जोडिएका र क्रियाशील संघसंस्था, व्यक्तिहरुसँग सहकार्य गर्ने नै छौं । कमसेकम पर्यटन क्षेत्रसँग जोडिएको कसैले पनि हाम्रो आवाज पनि पु¥याउने र पुग्ने कुनै संस्था छ भन्ने अनुभूति गराउँछौ ।

कोरोना कहरपछि पर्यटन व्यवसायी अलिक हतोत्साही भएको भन्ने सुनिन्छ । उनीहरुका लागि परिषदले राहत लगायतका काममा केहि तयारी गरेको छ ?
पक्कै पनि कोरोनाका कारण पोखराको पर्यटन शून्यमा झरेको कुरालाई नकार्न सकिदैन । करोडौ लगानी गरेको छ तर आम्दानी कत्तिपनि छैन । बैङको किस्ता र ब्याज नै धान्न नसक्ने अवस्था भएपछि हतोत्साही हुनु स्वभाविक नै हो । तर हिम्मत हारेर हुँदैन ।

हामी सम्बन्धित निकायको ध्यानाकर्षण गराईरहेका छौ । ढिलो चाँडो यसको परिणाम निस्कन्छ ।

राज्यसँग के अपेक्षा छ ?
राज्यले पयटन व्यवसायीलाई अब विशेष प्याकेजको व्यवस्था गर्नैपर्छ । मुलुकको अर्थतन्त्रको मुख्य हिस्साकारुपमा रहेको पर्यटन नै कमजोर हुने हो भने राज्य कदापि सम्बृद्ध हुन सक्दैन । यसका लागि राज्य गम्भीर भएर अघि बढ्नुपर्छ ।

राहतका प्याकेज, बैंकलोनको सरल योजना, करमा केही छूटलगायतको अपेक्षा होस् भन्ने हाम्रो माग छ ।

 

प्रस्तु्तीः ऋषिकान्त पौडेल

कमेन्टहरु
Loading...