३० वर्षपछि साङ्लोमुक्त हुँदै इमानसिंह गुरुङ

 

दिपक के श्रेष्ठ

३० वर्षदेखि साङलोमा बाँधिएका लमजुङ दोर्दी गाउँपालिकास्थित माझगाउँका ४९ वर्षीय इमानसिंह गुरुङलाई आज उद्धार गरिने भएको छ ।

मानव सेवा आश्रम लमजुङ शाखाले गुरुङलाई उद्धार गरी बेशिसहरमा रहेको आश्रममा राख्ने आश्रमकी संयोजक अनिता अधिकारीले जानकारी दिइन् । १८ वर्षकै उमेरमा मानसिक सन्तुलन गुमाएका गुरुङलाई परिवारले घरकै कोठामा साङलोले बाँधेर राखेका छन् ।

भारतीय सेनामा भर्ती हुन हिँडेका गुरुङ असफल भएर घर फर्कदा मानसिक सन्तुलन गुमेको परिवारले जनाएको छ ।

त्यसयता उनलाई नियन्त्रणमा लिन नसकेपछि घरकै कोठाभित्र उनी कहिले साङलो त कहिले दाम्लोमा कैद छन् ।

गुरुङलाई आज स्थानीय प्रशासनको रोहबरमा प्रहरीसहित माझगाउँ पुगेर आश्रममा ल्याइने संयोजक अधिकारीले बताइन् । आश्रममा ल्याएपछि उनको स्वास्थ्य जाँच गराइने र उपचारका लागि थप पहल गरिने छ ।

आश्रमकै संरक्षण र काउन्सिलिङमा रहने गुरुङलाई जहाँ उपयुक्त हुन्छ त्यही व्यवस्थापन गर्ने तयारी रहेको छ ।

हेटौडामा मूख्य कार्यालय रहेको आश्रमको विभिन्न स्थानमा २१ सेन्टर रहेका छन् । गुरुङलाई आज बेलुकासम्म बेशीसहर ल्याइपु¥याउने आश्रमले जनाएको छ ।

आर्थिक अवस्थामा कमजोर भएकै कारण उनलाई परिवारले उपचार गर्न नसकेपछि साङलोमा कैद गुरुङको सहयोगार्थ सामाजिक अभियन्ता सरिता गुरुङले फेसबुक फण्डरेजर क्याम्पेनमार्फत १० हजार रूपैयाँ सहयोग गरेकी छिन् ।

अमेरिकामा रहेकी गुरुङले यस अभियानमा सहयाेग गर्ने सबैलाइ धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेकी छिन् । गुरूङ ‘सरिता गुरूङ फाउण्डेशन’की अध्यक्षसमेत हुन् ।

तस्वीर: जनक श्रेष्ठ/रासस

कमेन्टहरु
Loading...