पोखरा । सांसद जनताले स्वामित्व राखेको व्यक्ति रहेको प्रतिनिधि सभा सदस्य विद्या भट्टराईले बताएकी छिन् । आइतबार पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले जनताले सांसदलाई आफ्नो स्वामित्व राख्ने व्यक्तिका रुपमा हेरेको बताएकी हुन् ।
अहिले अवस्थामा जनअपेक्षा बमोजिम सरकारले काम गर्न नसकेको बताउँदै उनले संघीयतालाई कायम गर्न निकै चुनौतीपूर्ण रहेको बताइन् । उनले भनिन्, ‘हामी नयाँ अभ्यासमा गएका छौं र यो चुनौतीपूर्ण छ । यसलाई कायम राख्न संविधानका आचरण र व्यवहार निर्माण गर्नुपर्छ ।’
सरकार सुस्त गतिमा हिँडिरहेको अवस्थामा समस्या कहाँ छ भनेर खोज्नुपर्ने भट्टराईको भनाई थियो ।
केन्द्र, प्रदेश, स्थानीय तहको आफ्नै समस्या रहेकोे बताउँदै उनले भनिन्, ‘स्थानीय सरकार कानुन, जनताको सम्बन्धमा निश्चित खालका सीमा छन्, संघले विश्वास गर्न जरुरी छ । प्रदेश र स्थानीय तहलाई विश्वास गरेर काम गर्न दिनुपर्छ ।’
कार्यक्रममा भट्टराईले निर्वाचन क्षेत्रमा पुर्वाधार विकास कार्यक्रमका योजना र विनियोजित बजेट सार्वजनिक गरेको छिन् । उनले अघिल्लो आर्थिक वर्ष ०७६÷७७ मा विनियोजन भएका बजेटको पूर्वाधार विकास कार्यक्रम के–कति सम्पन्न भए जानकारी दिइन् ।
अघिल्ला वर्षका निर्वाचित क्षेत्रमा अघि सरेका विकासका काम अब केही प्रतिशत बाकी रहेको उनको भनाई थियो । सांसद भट्टराईको योजनामा सडक विस्तारदेखि मोटरेबल पुल निर्माणको योजना रहेको छ ।
भट्टराई निर्वाचित क्षेत्र नम्बर २ मा पोखरा महानगरपालिकाको वडा नं. ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ पर्छन् ।