काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक आज दिउँसो १ बजे बस्दै छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष समेत रहेका केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव पेस गर्ने छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले यो प्रस्ताव १० दिनको समय लगाएर लेखेका हुन् ।
नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्तिक २८ गते ओलीमाथि गम्भीर आरोप लगाउँदै आफ्नो प्रस्ताव पेस गरेका थिए । प्रचण्डको सोही प्रस्तावलाई खण्डन गर्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले १० दिन लगाएर लेखेको प्रस्ताव पेस गर्न लागेकाले आजको यो बैठकलाई चासोका साथ हेरिएको छ ।
स्रोतका अनुसार ओलीले आज बैठकमा पेस गर्ने प्रस्तावमा पार्टीभित्र रहेको गतिरोधको अन्त्य तथा महाधिवेशनका विषयलाई समेटिएको छ । साथै प्रचण्डको कार्यशैलीका विषयमा समेत प्रश्न उठाइने बताइएको छ ।