शनिबारदेखि मौसम सफा हुने

काठमाडौं । पश्चिमी वायुको प्रभावले केही दिनयता प्रभावित मौसम शनिबारदेखि सुधार हुँदै जाने भएको छ । आज रातिदेखि पश्चिमी वायुको प्रभाव क्रमशः हटेर जाने भएकाले शनिबारदेखि देशभर मौसम सफा हुनेछ ।

उक्त प्रणाली पश्चिम भूभागबाट बाहिरिने क्रम शुरु भइसकेकाले वर्षा हुने सम्भावना कमै रहेको मौसमविद् प्रतिभा मानन्धरले बताएका छन् । मौसम सफा भएसँगै तापक्रम पनि निरन्तर घट्ने क्रम सुरु हुनेछ ।

आकाशमा बादल नभएर खुला हुनु, उत्तर पश्चिमी वायु बहनुजस्ता कारणले चिसो बढ्ने बताइएको छ । हाल देशका प्रदेश नं १ र २, वाग्मती र गण्डकीका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

प्रदेश नं १ र २, वाग्मती र गण्डकीमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका १ वा २ स्थानमा हल्का वर्षाको सम्भावना रही बाँकी भूभागमा मौसम सामान्यतया सफा हुनेछ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आठ दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २२ दशमलव छ डिग्री सेल्सियस छ ।

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस शून्य दशमलव ५ डिग्री र सबैभन्दा धेरै जनकपुरको न्यूनतम तापक्रम १५ दशमलव २ डिग्री सेल्सियस छ । रासस

कमेन्टहरु
Loading...