पोखरा । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको विकास र परिवर्तनका लागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
टवल मिडिया प्रकाशन प्रालिद्वारा प्रकाशित ‘दैनिकपत्र’ राष्ट्रिय दैनिकको १७औँ वार्षिकोत्सवको उद्घाटन गर्दै उनले सञ्चार संस्थाकै कारण प्राप्त उपलब्धिलाई संस्थागत गर्दै अगाडि बढ्न सम्भव भएको धारणा राखे ।
मन्त्री पौडेलले सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको स्पष्ट पार्दै सञ्चार क्षेत्रको भूमिकालाई अझै सशक्त बनाउन सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
दैनिकपत्र राष्ट्रिय दैनिकका प्रधानसम्पादक तथा कार्यकारी प्रमुख बालकृष्ण चापागाईले दैनिक पत्र मोफसलको उत्कृष्ट पत्रिका भएको बताउँदै संस्थाको उन्नति एवं प्रगतिका लागि सहयोग गर्ने पाठक, विज्ञापनदातालाई आभार एवं धन्यवाद व्यक्त गरे ।
संविधानसभाका सदस्य तथा राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालका केन्द्रीय अध्यक्ष विनोद पहाडीले अझै पनि मिडियाको कामलाई सरकारले महत्व नदिएको बताउँदै कोरोनाको महामारीमा समेत मिडिया सञ्चालन गर्दा हुने समस्या र राहतका बारेमा कसैले नसोधेको गुनासो गरे ।
मानव अधिकार तथा शान्ति समाजका वरिष्ठ उपाध्यक्ष गोविन्द खनालले मुलुकको अर्थतन्त्र बलियो बनाउन सबैको पहल आवश्यक रहेको बताए ।
होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीले कोरोनाका कारणले पर्यटन व्यवसाय उठ्न नसक्ने गरी थला परेको जनाउँदै पर्यटन व्यवसायलाई बचाउनका लागि सरकारले कुनै राहतको कार्यक्रम नल्याएको दुखेसो गरे ।
कार्यक्रममा प्राध्यापक लीलाबल्लभ ढकाल, लेखक तथा अर्थस्तम्भकार माधवकुमार पौडेल, दैनिकपत्रिका प्रबन्ध सम्पादक ऋषि आजाद, कार्यकारी सम्पादक सिपी खनाललगायतले कोरोना कारण मिडियामा भएको असर कम गर्न सरकारले विशेष योजना बनाउनुपर्ने बताए ।