काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कसैलाई एक्लो महशुस गर्न नदिने बताएका छन् । सामाजिक सुरक्षा दिवसका दिन आज भिडिओ सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले अनाथ वा सहाराविहीनको साथमा सरकार रहेको बताएका हुन् ।
‘कसैले अनाथ भएँ भन्नु पर्दैन। अनाथ हुनु दुखको कुरा हो,’ उनले भने, ‘अनाथ भएँ भनेर, रेखदेख गर्ने कोही छैन भन्नुपर्ने अवस्था छैन। सहारा छैन भन्नुपर्दैन। सरकार छ। राज्य छ।’
समाजका कोही पनि सदस्य सुरक्षा नपाएर त्रसित भएर जीवनयापन गर्न नपरोस् भनेरै यस्ता कार्यक्रम लागू गरिएको प्रधानमन्त्री ओलीको भनाइ छ ।
सरकार सुशासन र विकास अभियानमा अगाडि लम्किरहेको उनको दावी छ । देश र जनताप्रति निष्ठा भएको सरकारले कसैलाई पनि एक्लो नछोड्ने र एक्लो महशुस गर्न नदिने प्रधानमन्त्री ओलीको प्रतिवद्धता छ ।
सरकारले हरेक वर्ष मंसिर ११ गते सामाजिक सुरक्षा दिवस मनाउने गरेको छ ।