लेकमा अलपत्र २ जना परिवारको सम्पर्कमा

जाजरकोट । तिहार मान्न जाजरकोटदेखि जुम्ला आएका २ जना हिमपातले लेकमा अलपत्र परेकामा ४ दिनपछि परिवारको सम्पर्कमा आएका छन् । अलपत्र पर्नेमा जाजरकोट, जुनीचाँदे गाउँपालिकाका हरिबहादुर शाही र जुम्ला, तिला गाउँपालिकाका प्रेमबहादुर सिंह रहेका छन् ।

मौसम राम्रो भएपछि आफूहरु नातेदारको सम्पर्कमा आएको सिंहले बताए । गत कात्तिक २९ गते जाजरकोटबाट हिँडेका सिंह र शाही ३० गते जाजरकोट र जुम्लाको सिमाना कागचुचाको लेकमा भारी हिउँ पर्न थालेपछि हिँड्न नसकी अलपत्र परेको जनाइएको छ ।

कात्तिक ३० गते मध्याह्न १२ बजेपछि हिउँ पर्न छाडी घाम लागेपछि ४ फिट हिउँमा २ दिन लगाएर मंसिर १ गते राति आफूहरु २ जना जाजरकोट फर्केको सिंहले बताए । उनीहरु सम्पर्कविहीन भएको खबर भएपछि कर्णाली प्रदेश सरकारले उद्धार गर्ने तयारी गरे पनि मंगलबार सम्पर्कमा आइसकेको प्रेमबहादुरका भाइ धीरबहादुरले जानकारी दिएका छन् ।

अलपत्र परेको क्षेत्र ४ हजार २ सय मिटर उचाइ भएको जनाइएको छ । ४ दिन उनीहरुले घरबाट ल्याइएको रोटी र अन्य खानेकुरा खाई ओढारमा बसेका थिए । भारी हिउँ अहिले पनि परिरहेको बताइएको छ । सम्पर्कमा आएका सिंहले भने, ‘कसरी बाँचेर आइयो, अहिले पनि डर लागिरहेको छ ।’ रासस

कमेन्टहरु
Loading...