विराटनगर । कोरोना भाइरस संक्रमणबाट धरान तथा विराटनगरमा १/१ जनाको निधन भएको छ ।
उपचारका क्रममा धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा विराटनगरमा रहेको नोबेल मेडिकल कलेजमा १/१ जना कोरोना भाइरस संक्रमितको निधन भएको हो ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २९ वर्षीय महिलाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएकी छिन् । धरान उपमहानगरपालिका वडा नम्बर ११ की उनको बुधबार दिउँसो निधन भएको हो । कार्तिक २७ गते कोरोना संक्रमण पुष्टि भए पनि उनी ३० गते अस्पताल भर्ना भएकी थिइन् । उनलाई मृगौला सम्बन्धी समस्या रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।
यस्तै विराटनगरको नोबेल मेडिकल कलेजमा ७७ वर्षीय १ जना वृद्धले ज्यान गुमाएका छन् । इटहरी उपमहानगरपालिका वडा नम्बर २ का उनको आज बिहान साढे ६ बजे निधन भएको हो । कोरोना भाइरस संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका उनी मंसिर १ गते नोबेल अस्पताल भर्ना भएका थिए । उनलाई श्वासप्रश्वास सम्बन्धी समस्या रहेको अस्पताल स्रोतले जानकारी दिएको छ । होम आइसोलेसनमा रहँदा नै स्वास्थ्यमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका थिए ।