पोखरा । नेपालमा थप १ हजार ४ सय ४२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार नेपालमा थप १ हजार ४ सय ४२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख १२ हजार ९ सय १७ पुगेको छ । हाल नेपालमा २८ हजार ८ सय ७८ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टाको अवधिमा ६ हजार ७ सय ३१ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ । यस्तै पछिल्लो पटक थप ३ हजार ५ सय ३८ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या १ लाख ८२ हजार ७ सय ८० पुगेको छ ।
नेपालमा २४ घण्टाको अवधिमा थप १२ जनाको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ हजार २ सय ५९ पुगेको छ ।
हाल नेपालका कास्की सहित झापा, मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, दाङ, रुपन्देही, पाल्पा, कैलाली जिल्लामा ५ सयभन्दा बढी सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् ।
त्यस्तै मनाङ मात्र सक्रिय संक्रमितहरुको शुन्य संख्या भएको जिल्ला हो ।
मन्त्रालयको तथ्यांक अनुसार नेपालमा अहिले ३ सय २६ जनाको आइसियु तथा ५४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । त्यस्तै २६ हजार ४ सय २१ जना संक्रमितहरु होम आइसोलेसनमा रहेका छन् ।