पोखरा । बन्दाबन्दीले अधिकांशको रोजगारी खोसिएको अवस्थामा पोखराका १ जना ज्येष्ठ नागरिकले चोयाका सामानबाटै ६० हजार आम्दानी गरेका छन् । पोखरा महानगरपालिका–१७ रातोपैह्रामा बस्दै आएका ६५ वर्षीय शंकर नेपालीले बन्दाबन्दीका समयमा चोयाका सामान तयार गरी त्यसको बिक्रीबाट रु ६० हजार आम्दानी गरेका हुन् ।
बन्दाबन्दीअघि विभिन्न ठाउँमा ज्याला मजदुरी गरेर परिवारको जीविकोपार्जन गरेका नेपालीले सो समयमा बाहिर हिँड्डुलसमेत गर्न नपाएपछि चोयाका सामान बनाएर त्यसैबाट आफ्नो दैनिक खर्च चलाएको अनुभव सुनाए । गत चैतदेखि निर्मलपोखरी र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयबाट निगालो र निगाले बाँस खरिद गरेर चोया काटेर डोका ३४, थुन्से २४, झ्यारलुंगो १५ र धान राख्ने कोठा तथा मागअनुसारका विभिन्न अन्य सामग्री निर्माण गरी बिक्री गर्दै आएको उनले जानकारी दिएका छन् ।
‘आन्द्रामा क्यान्सर रोगको कारण शरीर कमजोर छ, गाह्रो काम गर्न सक्दिन ।’ उनले भने, ‘हातको सीपसँगै केही हदसम्म भए पनि आम्दानी हुने हुँदा परिवारको पालनपोषण र आफ्नो उपचारमा समेत सहयोग पुगेको छ ।’ बिहान सबेरैदेखि साँझसम्म चोयासँग खेल्नु दैनिकी बनाउँदै आएको बताउने नेपालीका अनुसार तयार गरिएका सामान बिक्री गर्न बजार जानु पर्दैन । सामान चाहिनेहरू घरमै आउने गरेको उनले बताए ।
चोया काढेर २ दिनको अवधिमा ३ वटा डोका तयार गर्ने गरेको बताउँदै उनले मागअनुसार चोयाबाट निर्माण गरिने सम्पूर्ण सामग्री आपूmले बुन्ने गरेको जानकारी दिएका छन् । नेपालीका अनुसार उत्पादित प्रतिडोका ५ सय ५०, विभिन्न आकारका थुन्से ४ सयदेखि ७ सय, झ्यारलुंगो (कुखुरा राख्ने) ७ सयदेखि ८ सय, धान राख्ने कोठाको २ हजार र बच्चाको कोक्रो १ हजारका दरले बिक्री हुँदै आएको छ ।
बजारमा प्लाष्टिकका सामग्री पाउन थालेपछि चोयाका सामान लोप हुँदै गएको अनुभव सुनाउँदै उनले वातावरणीयसँगै स्थानीय सीप र कच्चा पदार्थ प्रयोग गरी निर्मित वस्तुको प्रयोग बढाउनुपर्नेमा जोड दिए । पछिल्लो समय निगालो र बाँस पनि पाउन कठिन बनेको छ ।
बन्दाबन्दीको क्रममा श्रीमान्लाई आन्द्रामा क्यान्सर रोग देखिएपछि पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार गराउँदै आएको उनकी श्रीमती रत्नकुमारी नेपालीले दुखेसो सुनाइन् । ‘कमाउने श्रीमान्लाई जटिल रोग लागेपछि अहिलेसम्म उपचार गर्दा ३ लाखभन्दा बढी खर्च भइसकेको छ ।’ उनले भनिन्, ‘मंसिर ४ गते चौथोपटक किमो चढाउने भनेको छ, यसअघि स्वास्थ्य बीमा र गाउँपालिकाको सिफारिसमा केही छुट भएर सुविधा पुगे पनि थप उपचारका लागि पैसा छैन, अब के गर्ने ?’
‘श्रीमान् रोग र भोकसँंगै लड्दै घरमै चोयाका घरेलु सामग्री तयार गर्नुहुन्छ, मैले पोखराका आसपासका ग्रामीण क्षेत्रमा पुगेर तरकारी खरिद गरी बजार र घरबाटै बिक्री गर्दै आएकी छु ।’ रत्नकुमारीले भनिन्, ‘२ छोराले र छोरीहरूले पनि सहयोग गर्दै आएका छन् ।’ रासस