दुर्घटनामा एउटै गाउँका युवाहरुको ज्यान गुम्यो, दोगडाकेदार गाउँ शोकमा

बैतडी । दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बिहीबार राति भएको बस दुर्घटनामा परी ९ जनाको ज्यान गयो भने ३४ जना घाइते भए । सो दुर्घटनामा बैतडीका ३, दार्चुला, कञ्चनपुर र कैलालीका २÷२ जनाको ज्यान गयो ।

बैतडीका ज्यान गुमाउने तीनै जना एउटै गाउँका हुन् । उनीहरु तीनै जना दोगडाकेदार गाउँपालिका ६ सित्तडका हुन् । ज्यान गुमाउने तीनै जना २५ वर्षदेखि ३० वर्षमुनिका युवक रहेका छन् । ज्यान गुमाउनेमा दोगडाकेदार गाउँपालिकामा कार्यरत आन्तरिक लेखा परीक्षक कविन्द्रप्रसाद जोशी, नेपाल प्रहरीका जवान रणबहादुर चन्द र करन सिंह ऐरी रहेका छन् । यस्तै ७ जना घाइते पनि भए ।

गाउँपालिकाका ३ जनाको निधन र ७ जना घाइते भएपछि दोगडाकेदार गाउँपालिकाले दुख व्यक्त गरेको छ । गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले शोक वक्तव्य निकालेर दुख व्यक्त गरेका हुन् । वक्तव्यमा भनिएको छ, ‘उक्त घटनाले गाउँपालिका परिवार मर्माहत र शोकमा डुबेको छ । मृतकप्रति श्रद्धाञ्जलिका साथै घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना छ ।’

एकै वडाका ३ जना युवकको ज्यान गएपछि गाउँ नै शोकाकुल बनेको छ । गाउँका होनहार युवाले दुर्घटनामा ज्यान गुमाएपछि दोगडाकेदार ६ शोकमग्न भएको वडाध्यक्ष लक्ष्मीदत्त जोशीले बताए । उनले भने, ‘तिहारको बेला खुशीयाली मनाउनुको सट्टा, गाउँनै शोकमा डुबेको छ ।’ उनले थपे, ‘अन्त्यत्तै दर्दनाक घटना भयो, गाउँमा सन्नाटा छाएको छ ।’

तराई जानका लागि बसमा चढेका उनीहरु कहिले नफर्कने गरेर बिलाएपछि गाउँ नै शोकमग्न भएको स्थानीय नैनसिंह गोयलाले बताए । उनले भने, ‘युवा उमेरमै बालबच्चा र छोराछोरी छोडेर तीन युवाको ज्यान गयो ।’ सँगैका साथी गुमाउँदा निकै पीडा महसुस भएको छ । यो वर्ष तिहार हाम्रा लागि काल बनेर आयो । दोगडाकेदार वडा नं ६ का लागि यो निकै दुखदायी दिन भएको छ ।’ उनले भने ।

दुर्घटनामा परी ज्यान गुमाएका कविन्द्रप्रसाद जोशी आफ्नी श्रीमती र छोरासँगै महेन्द्रनगर गइरहेका थिए । बस दुर्घटनामा परेपछि जोशी कहिल्यै नफर्कने गरी बिलाएका छन् । १ वर्ष अघिमात्रै लोकसेवा पास गरेका कविन्द्रको परिवार शोकमा डुबेको छ । ‘यो घटनाले कहिल्यै नभुल्ने घाउ बनाएर गएको छ । कलिलो उमेरमा भतिजाको ज्यान गएपछि परिवारमा ब्रजपात भएको छ ।’ कविन्द्रका आफन्त हेमराज जोशीले भने, ‘१ वर्ष अघि मात्रै सरकारी जागीरमा लागेको थियो । हाम्रो परिवारको होनहार सदस्य गुमाउँदा असह्य पीडा भइरहेको छ । दैवले दिएको चोट सहनुको विकल्प छैन् ।’ कविन्द्रसँगै बसमा सवार श्रीमती र २ वर्षकी छोरीको डडेल्धुरामा उपचार भइहरेको छ ।

दोगडाकेदार ६ कै रणबहादुर चन्दको पनि बिहीबार भएकै बस दुर्घटनामा निधन भयो । चन्दको श्रीमती तराई जान लागेका थिए । ‘घाइते बुहारीको डडेल्धुरामा उपचार भइरहेको छ ।’ मृतकका आफन्त लोकेन्द्रबहादुर चन्दले भने, ‘तिहारसँगै नयाँ घरमा बसाइ सर्ने गरी जाँदै थिए, यस्तो होला भनेर सोचेका थिए, के गर्ने नसोचेको भयो ।’

दोगडाकेदार गाउँपालिका ६ कै करन ऐरीको पनि आफ्नो कलकलाउँदो उमेर बस दुर्घटनामै ज्यान गयो । सँगैका साथीको ज्यान गएको खबर सुन्दा निकै दुःख लागेको भुवन कार्कीले बताए । श्रीमती र छोरासहित भाइटीकाको लागि माइती घर बेलौरी जान हिँडेका करन बीच बाटोमै बिलाए । उनले भने, ‘करन कहिल्यै नफर्कने गरेर छोडेर गए ।’ करनकी श्रीमती र छोरा घाइते छन् ।

तिहारको समयमा भएको दुर्घटनाले जिल्लामै खल्लो वातावरण भएको छ । चाडपर्वको समयमा धेरै जना आफन्तहरुको भेटघाटमा गइरहेका थिए । यो घटनाले सबैलाई दुखित तुल्याएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए ।

उनले भने, ‘तिहारको बेला भएको ठूलो दुर्घटनाले सबैलाई दुखित बनाएको छ, चाडपर्वको बेला भएको दुर्घटनाले सबैलाई झस्काएको छ,घटनाले सिंगो जिल्ला शोकमग्न भएको छ ।’

दुर्घटनामा घाइते ३४ मध्ये गम्भीर घाइते १२ जनालाई धनगढी रेफर गरिएको छ भने बाँकी २२ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । बैतडीको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति साढे १० बजेतिर दुर्घटनामा परेको हो । सानो घुम्तीबाट बस ६ सय मिटर जति तल खसेको छ ।

साहुसमेत रहेका दोगडाकेदार गाउँपालिका–७ खोचलेकका वीरेन्द्र कार्की पनि घाइते भएको दुर्घटनाको कारण खुल्न नसकेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताएका छन् । रासस

कमेन्टहरु
Loading...