चितवनमा देउसी भैलो खेल्न रोक

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले तिहारको समयमा हुने देउसीभैलो खेल्न रोक लगाएको छ । कार्यालयले जारी गरेको चाडपर्व लक्षित एकीकृत सुरक्षा योजनाअन्तर्गत तिहारमा खेलिने देउसीभैलो खेल्न रोक लगाएको हो ।

१४ बुँदे योजनाअन्तर्गत बुँदा नम्बर ३ मा भेला भई गरिने शुभकामना आदानप्रदान, देउसीभैलो, खेलकुदलगायतका क्रियाकलाप सञ्चालन नगर्न अनुरोध गरिएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले निषेधाज्ञा लागू नभए पनि महामारी नियन्त्रणका लागि चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको बताए ।

आवागमन तथा जमघटले कोरोना संक्रमण उच्च हुने जोखिम रहेकाले चाडपर्व मनाउँदा एकाघरमा बसेर मनाउन उनले आग्रह गरेका छन् । उनका अनुसार घरदैलोमै पुगेर खेलिने देउसीभैलोका कारण संक्रमणको जोखिम भएकाले देउसीभैलो खेल्न पूर्ण रोक लगाइएको हो । पटाका, आतसबाजीलगायतका विष्फोटक पदार्थ ओसारपसार तथा प्रयोग नगर्नसमेत अनुरोध गरिएको छ ।

सुरक्षा संयन्त्रलाई सक्रिय बनाउँदै एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याइने उनको भनाइ छ । निर्देशन अटेर गर्नेलाई स्थलगत कारवाही गरिने उनले बताएका छन् । जुवातास, चिट्ठा खेल्नेलगायतका गतिविधिमा समेत निगरानी राखिएको उनले जानकारी दिएका छन् ।

कोरोनाको जोखिम बढ्दो रहेकाले सबैले घरघरमा बसेर पर्व मनाउन उनले आग्रह गरे ।

जिल्लामा हालसम्म ५ हजार १० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । तीमध्ये ३ हजार ३ सय १४ जना निको भएर घर फर्किसकेका छन् भने ७६ जनाको ज्यान गइसकेको छ । हाल १ हजार ६ सय २१ सक्रिय संक्रमित छन् । रासस

कमेन्टहरु
Loading...