काठमाडौं । कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल सुरु भएयता थप २ देशका नेपालीमा संक्रमण देखिएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता अष्ट्रिया र चेक रिपब्लिकमा रहेका नेपालीमा संक्रमण देखिएको हो ।
संघका अनुसार विश्वभर ४४ देशमा रहेका नेपालीमा कोरोना संक्रमण देखिएको छ ।
गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार, यो साता विदेशमा रहेका थप १ हजार १ सय ६३ जना नेपाली कोरोनामुक्त भएका छन् भने थप ५ सय ४४ जनामा संक्रमण देखिएको छ । समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार, विदेशमा ४४ हजार १ सय १३ जना नेपाली कोरोना भाइरसको संक्रमणमा परेका छन् । तीमध्ये ४० हजार ७ सय २८ जना अर्थात् ९२ प्रतिशत नेपाली कोरोनामुक्त भएका छन् । यो साता स्पेन, नेदरल्यान्ड, चेक रिपब्लिक, डेनमार्क, अष्ट्रिया रहेका नेपालीमा थप कोरोनाको संक्रमण देखिएको छ ।
गैरआवासीय नेपाली संघका अनुसार, यो साता साउदी अरबमा थप १ जना नेपालीको कोरोना भाइरसका कारण ज्यान गुमाउनु परेको छ । संघका अनुसार, विदेशमा १८ देशमा २ सय ८५ जना नेपालीले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन् ।
यो साता नेपालमा मात्र १ लाख ९१ हजार ६ सय ३६ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने तीमध्ये १ लाख ५५ हजार १ सय १४ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८१ प्रतिशत रहेको छ । शनिबार साँझसम्म नेपालमा १ हजार ८७ जनाको कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ ।
१० हजार किट स्वास्थ्य सामग्री
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जापानबाट प्राप्त १० हजार पिस एन्टी जिन स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको छ । करीब रु एक करोड मूल्य पर्ने उक्त एन्टी जिन एनआरएनए उपाध्यक्ष डा बद्री केसीले स्वास्थ्य राज्यमन्त्री नवराज रावतलाई गत शुक्रबार हस्तान्तरण गरेका हुन् । स्वास्थ्य मन्त्रालयमा आयोजित सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य राज्यमन्त्री नवराज रावतले विदेशमा रहेर नेपाल र नेपालीप्रति देखाएको सहयोगी भावनाको प्रशंसा गरेका थिएा ।
हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनए उपाध्यक्ष डा केसीले संघले विश्वव्यापी कोरोना संक्रमण सुरु भएदेखि नै विदेशमा रहेका नेपालीले स्वास्थ्यसम्बन्धी सामग्री सहयोग गरेको चर्चा गरे । कार्यक्रममा गैरआवासीय नेपाली संघका केन्द्रीय पार्षद कपिलदेव थापाले आफ्नो पहलमा केही भए पनि स्वास्थ्यसम्बन्धी सामग्री नेपाललाई जुटाउन सकेकामा प्रसन्नता प्रकट गरेका छन् । रासस