बाँकेमा कोरोनाबाट ६३ को निधन

बाँके । बाँकेमा कोरोना भाइरस संक्रमणका कारण हालसम्म ६३ जना बिरामीको ज्यान गएको छ । जिल्लामा बसोबास गर्ने ३५ र बाहिरी जिल्लाबाट उपचारका क्रममा आइ अस्पतालमा ज्यान गुमाएका २८ गरी ६३ जनाको ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठका अनुसार लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका संक्रमित बिरामीसमेत उपचारका लागि शिक्षण अस्पताल कोहलपुर र नेपालगञ्जस्थित भेरी अस्पतालमा प्रेषण हुने गरेकाले मृतकको संख्या बढ्दो रहेको छ ।

भेरी अस्पताल नेपालगञ्जमा उपचाररत दाङका एक कोरोना संक्रमितको आज ज्यान गएको छ । दाङको घोराही उपमहानगरपालिका—१५ निवासी ५९ वर्षीय पुरुषको उपचारका क्रममा अस्पतालमै बिहान ५ः२५ बजे ज्यान गएको स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिएका छन् ।

ती पुरुषलाई स्वास्थ्यमा समस्या भएपछि कात्तिक ६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा उपचारको क्रममा कोरोना संक्रमण पुष्टि भएपछि थप उपचारका लागि कात्तिक २० गते साँझ भेरी अस्पताल नेपालगञ्जमा भर्ना गरिएको थियो ।

उनको भेरी अस्पतालको कोभिड आइसियूमा उपचारकै क्रममा ज्यान गएको हो । रासस

कमेन्टहरु
Loading...