मालिका मन्दिर विकासका लागि सवा ३ करोडको गुरुयोजना तयार

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका १० थान्सिङकोटमा रहेको मालिका मन्दिर विकासका लागि सवा ३ करोडको गुरुयोजना निर्माण गरिएको छ । नगरप्रमुख रमेशकुमार पाण्डेले गुरुयोजना सार्वजनिक गर्दै मध्यनेपाल नगरपालिका धार्मिक महत्वले अगाडि रहेकाले नगर अन्तर्गतका मठमन्दिर र अन्य धार्मिक संरचनाको सम्बद्र्धन, प्रवद्र्धन र विकास गरी थप व्यवस्थित गरिने बताएका छन् ।

करापुटारमा रहेको इशानेश्वर (सन्तानेश्वर) महादेव मन्दिर, तान्द्राङकोट स्थित नागभैरव थान, टक्सारमा रहेको देवीथान, शिवालय पञ्चायन मन्दिर र थान्सिङकोटस्थित मालिकामाई लगायतका पवित्र मन्दिर र देवालयकै कारण मध्यनेपाल नगरपालिकाको धार्मिक महत्व र संभावना बढी रहेको नगरप्रमुख पाण्डेको भनाई छ ।

३ करोड २८ लाख बराबरको गुरुयोजनामा मालिकाको मुख्य मन्दिर, विपी पार्क, गणेश मन्दिर, पुजारी घर, चौतारो, पोखरी लगायतका संरचना निर्माण गरिने इञ्जिनियर विदुर घिमिरेले बताए ।

मालिका मन्दिर र कोइराला परिवारका बिचमा पुख्र्यौली सम्बन्ध भएकाले नगरपालिका र वडाले विश्वेश्वरप्रसाद कोइराला पार्क पनि निर्माण गर्न लागेको हो । मालिका मन्दिरमा पुजा गरेमा चाहेको मनोकांक्षा पुरा हुने, घरपरिवारको सुखशान्ति र कल्याण गर्ने, खेतीबाली र पशुपंक्षीको रक्षा गर्ने धार्मिक विश्वास छ ।

कमेन्टहरु
Loading...