प्रहरीद्वारा १४ लाखको पटाका र लत्ताकपडा बरामद

झापा । चाडपर्वको बेला सीमामा चोरी तस्करी नियन्त्रणका लागि झापाको प्रहरीले गस्ती बढाएको जनाएको छ । प्रहरीको निगरानी बढेसँगै मेचीनगरबाट १४ लाख बराबरको भन्सार छलेर भित्राइएका सामान प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एवं प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छलि ल्याउँदै गरेको कुर्था, तन्ना, ढाका कपडा, थान कपडालगायत ७ लाख २१ हजार ७ सयको सामान पक्राउ गरी इलाका प्रहरी कार्यालय काँकडभिट्टाले आज मेची भन्सार कार्यालयमा दाखिला गरेको छ ।

यसैगरी, मेचीनगर नगरपालिका–१० शान्ति समाज टोलबाट १३ बोरा पटाका सहित २ व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर–५ का २९ वर्षीय प्रशन्नजित दर्जी र टेम्पो चालक २९ वर्षीय विश्वनाथ प्रधान रहेको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिएका छन् ।

मे १ ह ५५२७ नं को टेम्पोमा मंगलबार साँझ चेकजाँच गर्दा प्रहरीले बरामद गरेको ती पटाकाको मूल्य ७ लाख रहेको छ । टेम्पोसहित पक्राउ परेका चालक प्रधान र पटाका आयातकर्ता दर्जीलाई कानूनी कार्वाहीका लागि धुलाबारी इलाका प्रहरी कार्यालयमा राखिएको छ ।

तिहार र छठ पर्व नजिकिँदै गएका कारण भारतबाट लुकिछिपी पटाका र अन्य सामान तस्करी हुन सक्ने सम्भावनालाई दृष्ट्रिगत गरी प्रहरीले सीमा क्षेत्रमा निगरानी बढाएको कोइरालाले बताएका छन् । रासस

कमेन्टहरु
Loading...