धरान । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ९ वर्षीय बालिका सहित २ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । घरानस्थित विपी प्रतिष्ठानमा २ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको हो । ज्यान गुमाउनेमा इटहरी ६ सुनसरीकी ९ वर्षीय बालिका तथा धरान १ की ६१ वर्षीय महिला रहेका छन् ।
कोरोनाबाट ज्यान गुमाएकी ९ वर्षीय बालिकाको कार्तिक १७ गते स्वाब संकलन पश्चात गरिएको परीक्षणका क्रममा संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि उनलाई १८ गते अस्पताल भर्ना गरिएको थियो ।
उनको आज बिहान पौने ४ बजे ज्यान गएको अस्पताल स्रोतले जानकारी दिएको छ ।
त्यस्तै ६१ वर्षीय महिलालाई असोज ३० गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि उनलाई कार्तिक ५ गते कोभिड अस्पताल भर्ना गरिएको थियो । उच्च रक्तचाप तथा श्वासप्रश्वासको समस्याबाट ग्रसित उनको आज बिहान सवा ३ बजेको समयमा ज्यान गएको अस्पताल स्रोतले जानकारी दिएको हो ।