पर्यटन प्रवद्र्धनमा पोखराको पर्वतीय संग्रहालयको महत्वपूर्ण भूमिका

पोखरा । पोखराको समग्र पर्यटन प्रवद्र्धनमा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयको महत्वपूर्ण भूमिका रहेकामा आज यहाँ आयोजित एक कार्यक्रमका वक्ताले जोड दिएका छन् ।

नेपाल पर्वतारोहण संघको ४७ औं स्थापना दिवसका अवसरमा पोखरा महानगरपालिका–१७ रातोपैह्रास्थित संग्रहालय परिसरमा आयोजित कार्यक्रममा वक्ताले पर्वतीय पर्यटनको अध्ययन अवलोकनका लागि संग्रहालय आकर्षक गन्तव्य बनेको बताएका हुन् ।

नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङले प्राकृतिक सुन्दरताले युक्त पोखरामा संघद्वारा स्थापना गरी सञ्चालनमा आएको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय छुटाउनै नहुने गन्तव्यका रुपमा विकास भएको बताए । ‘विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारण चैत महिनादेखि नै संग्रहालय बन्द भएको छ ।’ उनले भने, ‘त्यसबाट संघलाई लाखौं रुपैयाँ क्षति भएकोे हुनाले साथै कर्मचारी वर्गलाई परेको अप्ठेरोलाई सहज भएसँगै मूल्यांकन गरिने छ ।’

मुलुकका विभिन्न २७ वटा हिमचुचुरा र संग्रहालयको समेत व्यवस्थापन गर्दै आएको संघ यतिखेर ठूलो आर्थिक भार परेको उनको भनाइ छ । सो अवसरमा महासचिव गुरुङले संग्रहालय परिसरमा निर्माण गरिएको संघका पूर्वध्यक्षको अर्धकदको सालिकमा माल्यार्पण, संघको झण्डोत्तोलन गर्नाका साथै सम्मीको बिरुवा रोपेका थिए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले पर्वतीय पर्यटनको विकासमा संघले महत्वपूर्ण योगदान गर्दै आएको उल्लेख गर्दै संग्रहालय पोखराको एउटा छुट्टै गहनाका रुपमा स्थापित भएको विचार व्यक्त गरे ।

संघका सदस्य हरि लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पर्वतारोहण संघ अन्नपूर्ण शाखा गण्डकी प्रदेशका अध्यक्ष शेषकान्त पौडेल, भावना भुर्तेलले संग्रहालयको गतिविधिका बारेमा प्रकाश पारेका थिए । रासस

कमेन्टहरु
Loading...