झापा, सुर्खेत तथा बाँकेमा कोरोना संक्रमणबाट ६ जनाको निधन

पोखरा । कोरोना भाइरसको संक्रमणबाट आज बिहान झापामा थप ३ जनाको ज्यान गएको छ । यसरी ज्यान गुमाउनेमा दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकाका १/१ जना पुरुष रहेका छन् । दमक नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार, दमक–७ का अन्दाजी ५० वर्षीय वस्ती थरका पुरुषको नोबेल शिक्षण अस्पताल विराटनगरमा आज बिहान उपचारका क्रममा ज्यान गएको हो । शनिबार मात्रै उपचारका लागि नोबेल पु¥याइएका ती व्यक्तिको कोरोना परीक्षणको रिपोर्ट शनिबार नै संक्रमण पुष्टि आएको थियो ।

कमल गाउँपालिका–५ मङ्गलबारेका ७२ वर्षीय खरेल थरका १ वृद्धको घरमै आज बिहान ज्यान गएको छ । मिर्गौलाका बिरामी ती वृद्धको विराटनगरस्थित विराट मेडिकल कलेज हस्पिटलमा संक्रमण पुष्टि भएको थियो । केही दिनयता उनी होम आइसोलेसनमा बसेका थिए । योसँगै कमलमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ पुगेको गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताए ।

त्यस्तै, गौरादह–४ मिलन चोकका ७४ वर्षीय कृष्णबहादुर निरौलाको पनि गए राति घरैमा ज्यान गएको छ । कात्तिक १३ गते संक्रमण पुष्टि भएको उनको घरैमा उपचाररत थिए । योसँगै गौरादहमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ पुगेको गौरादह नगरपालिकाका स्वास्थ्य शाखाका गोविन्द श्रेष्ठले बताए । शनिबार पनि झापामा ३ जनाको ज्यान गएको थियो ।

यता बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत कोरोना संक्रमित २ जनाको ज्यान गएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२० राँझा निवासी ६० वर्षीया महिला र टीकापुर नगरपालिका–१ कैलाली निवासी ६० वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार, श्वासप्रश्वासमा समस्या भएपछि कात्तिक ८ गते अस्पताल भर्ना भएकी महिलामा परीक्षणका क्रममा कोरोना पुष्टि भएको थियो ।

संक्रमित महिलालाई रोगको प्रकृतिअनुसार गरिनुपर्ने प्लाजामा थेरापीलगायत सबै प्रकारको उपचार दिँदै गर्दासमेत बिरामीको अवस्थामा सुधार नआएपछि शिक्षण अस्पतालको कोभिड आइसियुमा उपचारकै क्रममा गए राति ज्यान गएको हो ।

यसैगरी, स्वास्थ्यमा समस्या देखिएपछि कात्तिक १४ गते शिक्षण अस्पताल कोहलपुरमा उपचारका लागि पुगेकी कैलालीका ६० वर्षीय पुरुषमा कात्तिक १५ गते कोरोना पुष्टि भएको थियो । श्वासप्रश्वासमा समस्या भएका संक्रमितपुरुषलाई रोगको प्रकृतिअनुसार गरिनुपर्ने सबै प्रकारका उपचार दिँदै गर्दासमेत बिरामीको अवस्थामा सुधार नआएपछि गए राति १ बजे शिक्षण अस्पताल कोहलपुरको कोभिड आइसियुमा उपचारकै क्रममा ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिएका छन् ।

यस्तै प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा १ कोरोना संक्रमितको ज्यान गएको छ । सुर्खेतको भेरीगंगा नगरपालिका– १२ का ३२ वर्षीय पुरुषको शनिबार राति ज्यान गएको अस्पतालले जनाएको छ । अस्पतालका कोरोना फोकल पर्सन डा नवराज केसीका अनुसार, कोहलपुरमा भेन्टिलेटर अभाव भएपछि शनिबार राति १० बजे अस्पताल भर्ना गरिएका ती बिरामीको ११ बजे ज्यान गएको हो ।

दसैंको सप्तमीको दिनमा उच्च ज्वरो आएपछि छिन्चुमा उनको प्रारम्भिक उपचार भएको थियो । ज्वरो कम नभएपछि त्यहाँबाट कोहलपुर रेफर गरिएको बताइएको छ । ती युवकको २ दिनअघि कोरोना परीक्षण गरिँदा रिपोर्ट पोजेटिभ आएको थियो । रासस

कमेन्टहरु
Loading...